राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन) आज बुधबार मधेश प्रदेशको साङ्गठनिक भ्रमणका क्रममा वीरगञ्ज आइपुग्ने भएका छन्। आगामी निर्वाचनको प्रचारप्रसारलाई तीव्र बनाउने उद्देश्यसहित सञ्चालन गरिएको ‘जनसम्पर्क तथा घण्टी अभिवादन’ कार्यक्रमअन्तर्गत शाह मंगलबारदेखि मधेश दौडाहामा छन्।
रास्वपाको मधेश प्रदेश अभियान तथा प्रचारप्रसार विभागका अनुसार नेता शाहले आज एकै दिन सर्लाही, रौतहट, बारा र पर्साका विभिन्न ९ वटा महत्वपूर्ण स्थानमा स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्ने कार्यतालिका रहेको छ।
उनको चुनावी यात्रा आज बिहान ८:०० बजे सर्लाहीको लालबन्दीबाट सुरु भएको हो। त्यसपछि बिहान ८:३० बजे हरिवन, ९:०० बजे बरथवा, ९:५० बजे रौतहटको गरुडा र १०:३० बजे चपुरमा स्थानीय जनतासँग भेटघाट गर्ने कार्यक्रम छ। बिहानको अन्तिम कार्यक्रम ११:१० बजे बाराको निजगढमा तय गरिएको छ।
दिउँसोको सत्रमा नेता शाह १:०० बजे कलैया पुग्नेछन् भने १:३० बजे पर्साको वीरगञ्जस्थित घण्टाघरमा उपस्थित भई आम मतदातासँग साक्षात्कार गर्नेछन्। वीरगञ्जमा उनले पार्टीको भावी योजना, क्षेत्रीय विकास, सुशासन तथा रोजगारीका मुद्दामा केन्द्रित रहेर विशेष छलफल गर्ने कार्यक्रम रहेको छ। आजको भ्रमणको समापन दिउँसो २:०० बजे जितपुरमा पुगेर हुने नेता शाहको सचिवालयले जनाएको छ।
काठमाडौँ महानगरपालिकाका पूर्व मेयरसमेत रहेका शाहले यस भ्रमणका क्रममा स्थानीय समस्याको दिगो समाधान, पारदर्शी शासन प्रणाली र मुलुकको समृद्धिका लागि रास्वपाको प्रतिबद्धता व्यक्त गर्ने बताइएको छ। मधेश प्रदेशका विभाग प्रमुख राम सर्राफका अनुसार यो भ्रमणले मधेशमा रास्वपाको साङ्गठनिक आधारलाई थप मजबुत बनाउने र चुनावी अभियानलाई सशक्त बनाउने अपेक्षा गरिएको छ।
हालका दिनहरूमा मधेश प्रदेशमा रास्वपाको बढ्दो प्रभाव र बालेन शाहको सक्रिय उपस्थितिले स्थानीय राजनीतिमा नयाँ तरङ्ग सिर्जना गरेको विश्लेषण गरिएको छ। विशेषगरी युवा पुस्ता तथा विकासमुखी मतदातालाई केन्द्रमा राखेर गरिएको यो अभियानले आगामी निर्वाचनमा उल्लेखनीय प्रभाव पार्ने आँकलन गरिएको छ।