नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आगामी टी–२० विश्वकपमा दबाब स्वाभाविक हुने तर त्यसलाई सम्हाल्न सक्ने टोलीले नै सफलता हासिल गर्ने बताएका छन्।
मंगलबार प्रि–म्याच प्रेस कन्फेरेन्समा कप्तान रोहितले भने, “विश्वकपमा खेल्दा दबाब अवश्य हुन्छ। दबाब झेल्न सक्ने टोली नै सफल हुन्छ। हामीले धेरै दर्शकको अगाडि पछिल्लो समय धेरै खेल खेलेका छौं र दबाब सम्हाल्न सक्षम छौं।”
इंग्ल्यान्डसँगको पछिल्लो खेलबाट टोलीले कठिन परिस्थितिमा निर्णय लिन र दबाब व्यवस्थापन गर्न महत्वपूर्ण अनुभव प्राप्त गरेको उनले बताए। रोहितले वेस्ट इन्डिज र स्कटल्यान्ड जस्ता टोलीसँग खेल्दा योजना कार्यान्वयन र दबाब व्यवस्थापन महत्त्वपूर्ण हुने उल्लेख गरे।
इटलीलाई पनि हल्का रूपमा नलिने रोहितले बताए, “विश्वकपमा खेल्ने हरेक टोली राम्रो हुन्छ। इटलीले पनि पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेको छ। हामी हल्का दृष्टिले हेर्ने छैनौं।”
नेपालले समूह चरणका सबै खेल मुम्बईस्थित वाङ्खडे स्टेडियममा खेल्नेछ। रोहितले भने, “वाङ्खडे मैदानको विकेट नेपाली टोलीका लागि उपयुक्त छ। यहाँ सबै खेल खेल्न पाउनु हाम्रो लागि प्लस प्वाइन्ट हो।”
अन्तर्राष्ट्रिय अनुभव र एक्सपोजरको कमीका बारेमा रोहितले गुनासो गर्दै भने, “यदि वर्षमा २–३ वटा नियमित अन्तर्राष्ट्रिय शृंखला खेल्ने अवसर पाइयो भने नेपाली खेलाडीको क्षमता अझ परीक्षण हुन्छ र विकासमा सहयोग पुग्छ।”
नेपाल प्रिमियर लिग (एनपीएल) बाट पनि खेलाडीलाई राम्रो एक्सपोजर मिलेको उनले बताए। रोहितले भविष्यमा विश्वकप प्रदर्शनका आधारमा केही खेलाडीलाई इन्डियन प्रिमियर लिग (आईपीएल) मा मौका मिल्ने विश्वास व्यक्त गरे।
इंग्ल्यान्डसँगको खेलपछि भावनात्मक रूपमा माफी मागेका पेस बलर नन्दन यादवको विषयमा रोहितले भने, “उनी भावनात्मक भएर त्यस्तो प्रतिक्रिया दिएका हुन सक्छन्।”