जनता समाजवादी पार्टी (जसपा) नेपालबाट पर्सा क्षेत्र नं. १ का उम्मेदवार रामनरेश यादवले आफ्नो चुनाव प्रचारलाई तीव्र बनाउँदै नागरिकको घरआँगनमै पुगेर छाता चिन्हमा मतदान गर्न मतदातालाई आग्रह गरेका छन्।
वीरगन्ज महानगरपालिका–१५ लक्ष्मणवामा मंगलबार बिहान आयोजित घरदैलो कार्यक्रममा उम्मेदवार यादवले मधेस आन्दोलनको नेतृत्व गर्दै मधेसी समुदायलाई पहिचान दिलाउने जसपाको भूमिकाबारे चर्चा गर्दै मतदातासँग समर्थन माग गरे।
घरदैलोका क्रममा महिला मतदाताले अघिल्ला निर्वाचनमा जितेपछि मधेसका मुद्दा छाडेर अन्य दलमा जाने हो कि भन्ने प्रश्न उठाएका थिए। उनीहरूले लक्ष्मणवामा पर्याप्त पूर्वाधार विकास नभएको गुनासो पनि गरेका थिए।
कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै यादवले लक्ष्मणवाका मतदाताबाट उत्साहजनक स्वागत र आगामी निर्वाचनमा समर्थनको आश्वासन प्राप्त भएको बताए। उनले विगतका जनप्रतिनिधिप्रति केही गुनासा भए पनि यसपटक पनि जसपा मधेसी जनताको अधिकारका लागि अग्रणी भूमिका निर्वाह गर्ने दाबी गरे।
घरदैलो कार्यक्रममा जसपाका महासचिव तथा मधेस प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउत गद्दी, पूर्वमन्त्री रमेश प्रसाद कुर्मी, करिमा बेगम, रेखा साह, वलिराम यादव, सुरेन्द्र कुर्मी, शशिकपुर मियाँ, वीरगन्ज महानगर अध्यक्ष धनश्यामबाबु गुप्ता, क्षेत्रीय अध्यक्ष सुन्दर साह कानु, रितेश गुप्ता लगायत नेता–कार्यकर्ता र स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो।