अखिल नेपाल महिला संघ पर्साको भेला आज वीरगञ्जमा सम्पन्न भएको छ। भेला पर्सा निर्वाचन क्षेत्र नं. १ बाट नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवको समर्थनमा उनलाई विजयी बनाउने उद्देश्यसहित आयोजना गरिएको हो।
भेलामा सहभागी महिला नेतृ तथा कार्यकर्ताहरूले घर–घरमा पुगेर एमालेका उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
संघकी इन्दु घिमिरेको अध्यक्षतामा सम्पन्न भेलामा नेकपा एमालेकी केन्द्रीय सदस्य उर्मिला देवकोटाले देशको राजनीतिक स्थिरता, विकास र सुशासनका लागि एमालेको विजय आवश्यक रहेको बताइन्। उनले महिला अधिकार, समानता र सशक्तीकरणका क्षेत्रमा एमालेले खेलेको भूमिकाको चर्चा गर्दै महिलाहरूको सक्रिय सहभागिताले मात्र पार्टीलाई विजयी बनाउन सकिने उल्लेख गरिन्।
“एमालेले महिलाको हकहितका लागि नीति र व्यवहार दुवै तहमा काम गरेको छ, त्यसैले अबको निर्वाचनमा महिलाहरू एकजुट भएर एमालेका उम्मेदवारलाई जिताउन अग्रसर हुनुपर्छ,” उनले भनिन्।
भेलामा बोल्दै नेतृ पिंकी यादव र रानी रायले उम्मेदवार प्रदीप यादवको राजनीतिक योगदान, जनतासँगको निकटता र विकासप्रतिको प्रतिबद्धताको प्रशंसा गर्दै पर्सा क्षेत्र नं. १ मा उनलाई विजयी गराउनु समयको आवश्यकता रहेको बताए। उनीहरूले महिला संघका कार्यकर्तालाई संगठित रूपमा परिचालित भई चुनावी अभियानमा सक्रिय हुन आह्वान गरे।
भेलाको अध्यक्षता गर्दै इन्दु घिमिरेले महिला संघ पर्साले निर्वाचनसम्म निरन्तर रूपमा एमाले उम्मेदवार यादवको पक्षमा अभियान सञ्चालन गर्ने जानकारी दिइन्। महिलाहरूको एकता र सक्रियताले पर्सा क्षेत्र नं. १ मा प्रदीप यादवको जित सुनिश्चित हुने विश्वास पनि उनले व्यक्त गरिन्।
भेलाको अन्त्यमा सहभागीहरूले आगामी निर्वाचनमा नेकपा एमाले र उसका उम्मेदवारको पक्षमा संगठित रूपमा लाग्ने संकल्प व्यक्त गरेका थिए।