पर्सा क्षेत्र नं. २ का जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार अशोक टेमानीले घरदैलो अभियानलाई तीव्र बनाउँदै स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्।
बहुदरमाई नगरपालिका वडा नं. २ सिसियारी–बैरियामा आयोजित कार्यक्रममा टेमानीले शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी, सडक र अन्य आधारभूत सेवासम्बन्धी समस्या सुने। स्थानीयले उठाएका गुनासो र सुझावलाई गम्भीरतापूर्वक लिएर उनले निर्वाचित भएपछि संसदमा प्राथमिकताका साथ उठाउने प्रतिबद्धता जनाए।
‘म नेता होइन, जनताको सेवक भएर काम गर्न आएको हुँ,’ उनले भने, ‘जवाफदेही र जनमुखी राजनीति आजको आवश्यकता हो।’ विगतको अभ्यासभन्दा फरक शैलीमा जनतासँगै रहेर काम गर्ने प्रतिवद्धता उनले दोहोर्याए।
टेमानी पछिल्लो एक सातादेखि वीरगन्ज महानगरपालिका, पर्सागढी नगरपालिका र बहुदरमाई नगरपालिकाका विभिन्न वडा र टोलमा पुगेर मतदातासँग भेटघाट गर्दै आएका छन्। उनले वीरगन्ज र पर्सालाई आर्थिक तथा औद्योगिक केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन योजना आवश्यक रहेको बताए।
स्थानीयले टेमानीको सरल स्वभाव, सहज पहुँच र निरन्तर सक्रियतालाई सकारात्मक रूपमा लिएका छन्। घरको आँगनमै उम्मेदवार पुगेपछि मतदाता उत्साहित देखिएका थिए।
स्थानीयले सडक, नाला, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर, सिँचाइ, मल–बीउको उपलब्धता तथा कृषिउपजको उचित मूल्य नपाएको गुनासो गरेका छन्। यसपटक उनीहरूले सचेत निर्णय गरी परिवर्तनको अपेक्षा राखेर मतदान गर्ने बताएका छन्।