जब नेपाल संकटमा हुन्छ, विकेट खोज्न मैदानमा उत्रिने नाम सन्दीप लामिछाने हो। २५ वर्षीय लेगस्पिनर सन्दीपले नेपालका लागि धेरै पटक नायकको भूमिका निर्वाह गरेका छन् र आगामी आइसिसी टी–२० विश्वकप २०२६ मा पनि टोलीको मुख्य बलर बन्ने तय छ।
स्याङ्जाको क्याम्पाचौरमा जन्मेका सन्दीपले बाल्यकाल भारतमा बिताए। उनका बुबा चन्द्रनारायण भारतको रेल्वेमा काम गर्थे। चार कक्षा पढेपछि उनी क्रिकेट सिक्न नेपाल फर्किए। चितवन क्रिकेट एकेडेमीमा प्रशिक्षण पाएपछि उनको बलिङ प्रतिभा फुल्न थाल्यो।
१४ वर्षको उमेरमा तत्कालिन नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दसानायकेले सन्दीपको क्षमता देख्दा उनको करिअरको दिशा नै बदलियो। यु–१९ टोलीको बन्द प्रशिक्षणमा अवसर पाएपछि सन्दीपले बंगलादेश यु–१९ विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेर रातारात चर्चामा आए।
नेपाल सुपर–८ र टेस्ट राष्ट्र आयरल्यान्ड विरुद्ध ह्याट्रिकसहित पाँच विकेट लिएपछि उनले अन्तर्राष्ट्रिय मिडियामा ‘नेपाली–शेन वार्न’ को संज्ञा पाए। अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कसँगको मित्रता सन्दीपको अन्तर्राष्ट्रिय यात्रा अझ प्रभावशाली बनायो।
सन् २०१८ मा इन्डियन प्रिमियर लिग (आईपीएल) को दिल्ली डेयर डेभिल्समा आबद्ध हुँदै उनी पहिलो नेपाली आईपीएल खेलाडी बने। सोही वर्ष विश्व क्रिकेट लिग डिभिजन–२ मा १७ विकेट लिएर ‘प्लेयर अफ द टूर्नामेन्ट’ बने। मार्च २०१८ मा क्यारेबियन प्रिमियर लिगको सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्ससँग अनुबन्ध हुँदै सन्दीप नेपाली क्रिकेटको पहिलो सुपरस्टार बने।
टी–२० अन्तर्राष्ट्रिय डेब्यू भने उनले नेपालबाट होइन, लर्ड्समा विश्व ११ विरुद्ध वेस्ट इन्डिजमा गरेका थिए। सन्दीपले भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, युएई, अस्ट्रेलिया, इंग्ल्यान्ड र क्यानडाका लिगमा खेल्दै नेपाली क्रिकेटको नाम विश्वमञ्चमा उजागर गरेका छन्।
सन्दीप लामिछानेको बलिङ मात्र बल होइन, संकटको बेलामा टोलीको आत्मविश्वास पनि हो। नेपाली क्रिकेट प्रेमीहरूको आँखामा उनी नायक मात्र नभई प्रेरणाको प्रतीक पनि बनेका छन्।