पर्सा क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा उम्मेदवार अनिल कुमार रुंगटा र वीरगन्ज महानगरपालिका–३० का स्थानीय बासिन्दाबीच आज अर्थपूर्ण संवाद सम्पन्न भएको छ।
साक्षात्कारको क्रममा स्थानीय मतदाताले अब भाषण र आश्वासनभन्दा काममा निरन्तरता, पारदर्शिता र जवाफदेहिता आवश्यक रहेको स्पष्ट सन्देश दिएका थिए। उनीहरूले विगतमा निर्वाचित जनप्रतिनिधिहरूले थालिएका योजना अधुरै छोडेको, बजेट खर्च भए पनि परिणाम नदेखिएको प्रति असन्तोष व्यक्त गरे।
“विकासको नाममा बोर्ड त लाग्छ, तर जनताको जीवन बदलिँदैन,” स्थानीयहरूले आफ्नो गुनासो व्यक्त गरे। त्यसैगरी शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र रोजगारीलाई प्राथमिकतामा राखेर देखिने र महसुस हुने विकास आवश्यक रहेको पनि जनमत थियो।
स्थानीयको तीखो प्रश्न र अपेक्षाको जवाफ दिँदै उम्मेदवार रुंग्टाले आफ्नो राजनीति सुशासन र पारदर्शितामा आधारित रहने स्पष्ट पारे। उनले विकास योजनामा सार्वजनिक सुनुवाइ, खर्च विवरणको पारदर्शी प्रकाशन र जनताको प्रत्यक्ष निगरानी सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गरे।
रुंग्टाले भने, “जनताको चाहना र मेरो योजना एउटै दिशामा छन्। विकास केवल कागजमा सीमित नहुने, प्रत्यक्ष अनुभूत हुने परिणाममुखी हुनेछ।” साथै, उनले वडा–वडामा नियमित संवाद, विकास योजनाको निरन्तर अनुगमन र जनप्रतिनिधिलाई जवाफदेही बनाउने प्रणाली स्थापना गर्ने योजना पनि सार्वजनिक गरे।
साक्षात्कारपछि स्थानीय बासिन्दाहरूले आफ्ना मुद्दा खुलेर राख्न पाएकोमा सन्तुष्टि व्यक्त गर्दै, अब जनताको आवाज सुन्ने र त्यसलाई काममा रूपान्तरण गर्ने नेतृत्व आवश्यक भएको प्रतिक्रिया दिएका छन्।