नेपाली कांग्रेसका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अनिल रुङटाले मतदातालाई बहुरुपिया उम्मेदवारहरूको झुटा आश्वासन र प्रलोभनमा नपरी देश विकासको स्पष्ट खाका भएको नेतृत्व रोज्न अपिल गरेका छन् ।
आज पर्साको पिपरामा आयोजित चुनावी भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार रुङटाले आकर्षक नाराले मात्र देश नबन्ने भन्दै विगतमा जनतालाई झुक्याउने शक्तिहरूबाट सचेत रहन आग्रह गरे । ‘विकासका लागि स्पष्ट योजना नभएका दल र उम्मेदवारले यसअघि जनतालाई केवल निरासा मात्र दिए,’ उनले भने, ‘काँग्रेसको नेतृत्वमा आगामी पाँच वर्षभित्र विकासका कार्यलाई तीव्र गतिमा अघि बढाइनेछ, त्यसका लागि यसपटक रुख चिह्नमा मतदान अनिवार्य छ।’
उम्मेदवार रुङटाले देश र जनतामैत्री आर्थिक नीति, रोजगारी सिर्जना र दीर्घकालीन विकासका लागि नेपाली कांग्रेस नै एकमात्र विकल्प भएको दाबी गरे।
सोही कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले स्थानीय समस्या समाधानमा पार्टी गम्भीर रहेको बताए। उहाँले पिपरा टोलको सडक समस्या समाधानका लागि मधेस प्रदेश सरकारबाट केही दिनभित्रै १ करोड रुपैयाँ बजेट विनियोजन हुने तयारीमा रहेको जानकारी दिए ।
कार्यक्रममा महाधिवेशन प्रतिनिधि प्रकाश उपाध्याय, क्षेत्रीय सभापति अरविन्द गुप्ता, सचिव हरि यादव, पूर्व सभापति भोला साह कलवार, उपसभापति अनिल सिंह लगायतका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।