अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का वीरगञ्ज महानगर अध्यक्ष इश्वरचन्द्र यादव नेकपा एमालेमा प्रवेश गरेका छन्। यादवसँगै वीरगञ्ज महानगरपालिका वडा नम्बर–१५ का १२० जना नेता तथा कार्यकर्ता पनि एमालेमा प्रवेश गरेका हुन्।
शुक्रबार वडा नम्बर–१५ मा आयोजित नेकपा एमालेको पार्टी प्रवेश कार्यक्रममा जसपाका महानगर अध्यक्ष यादवसहितका नेता–कार्यकर्तालाई एमाले केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा, केन्द्रीय सदस्य तथा वीरगञ्जका पूर्वमेयर विजयकुमार सरावगी, पर्सा जिल्ला अध्यक्ष डा. विश्वम्भर शर्मालगायतका नेताहरूले पार्टीमा स्वागत गरेका थिए।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै यादवले मधेसका बाँकी मुद्दाको सम्बोधन अब नेकपा एमालेले नै गर्न सक्ने विश्वास व्यक्त गर्दै जसपा त्यागेर एमालेमा प्रवेश गरेको बताए। उनले भने, “अहिले केही शक्ति विदेशीको इशारामा नेपालको राष्ट्रियता र लोकतन्त्र समाप्त गर्ने षड्यन्त्रमा लागेका छन्। ती शक्तिहरूको प्रतिवाद गर्न सक्ने राजनीतिक शक्ति अब यो मुलुकमा एमाले मात्रै छ, त्यसैकारण हामी एमालेमा प्रवेश गरेका हौँ।”
कार्यक्रमका प्रमुख अतिथि तथा एमाले केन्द्रीय सदस्य प्रभु हजराले जसपाका वीरगञ्ज महानगर अध्यक्ष यादवसहितको प्रवेशले पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा एमाले पार्टी थप मजबुत बनेको बताए। उनले यसबाट पर्सा–१ मा एमाले उम्मेदवार प्रदीप यादवको जित थप सुनिश्चित भएको दाबी गरे।
कार्यक्रममा नेकपा एमाले पर्सा जिल्ला सचिव महेश दास, नेता पुरुषोत्तम लाल झा, गगनदेव पटेल, उमेशलाल सहनीलगायतको पनि सहभागिता रहेको थियो।