नेपाली काँग्रेसका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा उम्मेदवार अनिल रुङटाले युवाशक्तिलाई राजनीतिक परिवर्तन र क्षेत्रीय विकासको मुख्य आधारका रूपमा अघि सारेका छन्। नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) आबद्ध युवाहरूले संगठित रूपमा चुनावी अभियान तीव्र बनाइरहेका बेला रुङटाले युवाको सक्रिय सहभागिताले लोकतन्त्र सुदृढ हुने बताएका हुन्।
नेविसंघका युवा नेता विकास मण्डलको अध्यक्षतामा आज सम्पन्न बैठकमा प्रमुख अतिथिका रूपमा सहभागी रुङटाले युवाहरूको उत्साह र प्रतिबद्धताले आफूलाई थप जिम्मेवार बनाएको उल्लेख गरे। उनले भने, “आजको युवा केवल मतदाता मात्र होइन, नीति निर्माणका साझेदार हुन्। युवाको ऊर्जा, सृजनशीलता र प्रविधिमैत्री सोच नै पर्सा क्षेत्रको विकासको आधार बन्न सक्छ।”
बैठकले पर्सा–१ अन्तर्गतका सबै वडामा चरणबद्ध रूपमा घरदैलो कार्यक्रम, युवामुखी अन्तरक्रिया, डिजिटल क्याम्पेन तथा संगठन सुदृढीकरण गर्ने निर्णय गरेको छ। लोकतन्त्रको रक्षा, संविधानको प्रभावकारी कार्यान्वयन तथा समावेशी विकासलाई अभियानको मुख्य एजेन्डा बनाइएको नेविसंघले जनाएको छ।
रुङटाले पर्सा–१ को समग्र विकासका लागि रोजगारी सिर्जना, सीपमूलक तथा गुणस्तरीय शिक्षा, स्टार्टअप तथा उद्यमशीलताको प्रवर्द्धन, गुणस्तरीय स्वास्थ्य सेवा र डिजिटल पूर्वाधार विस्तारलाई आफ्नो प्राथमिकतामा राखेको बताए। साथै, युवाको विदेश पलायन रोक्न स्थानीय तहमै रोजगारी र अवसर सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा विशिष्ट अतिथि नेपाली काँग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले पार्टी संगठन मजबुत बनाउन नेविसंघको भूमिका महत्वपूर्ण रहेको बताए। उनले युवाहरूलाई अनुशासित, मर्यादित र सकारात्मक ढङ्गले चुनावी अभियानमा सक्रिय हुन आग्रह गरे।
बैठकमा नेविसंघका जिल्ला, क्षेत्र तथा वडा तहका नेता–कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागी युवाहरूले आगामी दिनमा एकजुट भएर अनिल रुङटाको पक्षमा जनमत सिर्जना गर्ने प्रतिबद्धता जनाएका छन्।