पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा नेकपा (एमाले)का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप यादवले पर्सामा पार्टीलाई जिताउन नेता तथा कार्यकर्ताहरू एकजुट भएर सक्रिय भएको देख्दा आफूमा थप ऊर्जा आएको बताएका छन्।
बुधबार वीरगञ्जमा आयोजित नेकपा (एमाले) वीरगञ्ज महानगर कमिटीको चौथो पूर्ण बैठकलाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका यादवले पार्टीका युवा कार्यकर्ताहरूको उत्साह र सक्रियताले पर्सामा एमालेको जित सुनिश्चित हुँदै गएको दाबी गरे।
उनले भने, “पार्टीलाई जिताउने मुख्य आधार भनेकै नेता र कार्यकर्ताहरूको मेहनत र सक्रियता हो। यसपटक पर्सामा एमालेका नेता–कार्यकर्ताहरू एकताबद्ध भएर लागिरहेको देख्दा हामी उम्मेदवारहरूको मनोबल बढेको छ। हामीमा थप ऊर्जा पनि आएको छ।”
बैठक नेकपा (एमाले) वीरगञ्ज महानगर कमिटीका कार्यवाहक अध्यक्ष लियाकत अलीको अध्यक्षतामा तथा केन्द्रीय सदस्य विजयकुमार सरावगीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। बैठकमा वीरगञ्ज महानगर इन्चार्ज विचारी यादवको पनि उपस्थिति रहेको थियो।
बैठकले आसन्न निर्वाचनलाई प्रभावकारी बनाउन ५५१ सदस्यीय वीरगञ्ज महानगर निर्वाचन परिचालन कमिटी गठन गर्ने निर्णयसमेत गरेको छ।
बैठकमा पार्टीको समसामयिक राजनीतिक अवस्था, संगठन विस्तार तथा जनआधार मजबुत बनाउने विषयमा नेताहरूले आ–आफ्नो धारणा राखेका थिए। उनीहरूले आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन सबै तहका कार्यकर्ताहरू एकताबद्ध भएर सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।
बैठकमा पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का उम्मेदवार रिमा यादव, क्षेत्र नम्बर–३ का उम्मेदवार रूपेश पाण्डेलगायत पार्टीका केन्द्रीय, जिल्ला तथा महानगर तहका नेता–कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।