आगामी निर्वाचनको मिति नजिकिएसँगै बारा निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी चहलपहल निकै रोचक बनेको छ। यस क्षेत्रबाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका भैयाराम यादव यतिबेला स्थानीय मतदातामाझ ‘आशाको उज्यालो’ र चर्चाको केन्द्रमा छन् ।
राजनीतिक पृष्ठभूमि र सामाजिक पहिचान
वीरगन्जस्थित ठाकुर राम बहुमुखी क्याम्पसबाट विद्यार्थी राजनीति सुरु गरेका यादव राजनीतिलाई नजिकबाट बुझेका र धरातलीय यथार्थसँग जोडिएका नेता मानिन्छन् । वर्षौंदेखि सामाजिक अभियन्ताका रूपमा गरिब, विपन्न तथा निमुखा समुदायको पक्षमा उभिँदै आएका यादवको पहिचान ‘भाषणभन्दा बढी काम गर्ने नेता‘का रूपमा स्थापित छ।
विशेष गरी निम्न वर्गको जीविकोपार्जन, शिक्षा, स्वास्थ्य र आपतकालीन सहयोगमा उनको निरन्तर सक्रियताले गर्दा बारा–२ का गाउँ–बस्तीहरूमा उहाँको नाम सम्मानका साथ लिने गरिएको छ।
परिवर्तनको खोजीमा बारा–२
विगतका निर्वाचनहरूमा एउटै दलले लगातार दुई पटकसम्म जित हासिल गरे पनि जनताका आधारभूत समस्याहरू सम्बोधन नभएको गुनासो स्थानीयमा व्याप्त छ। यस पटक बारा–२ का मतदाताहरू परिवर्तनको पक्षमा उभिएको र त्यसको बलियो प्रतिनिधित्व भैयाराम यादवले गरिरहेको चुनावी माहोलले देखाउँछ। स्थानीय स्तरमा ‘अब जनता ठगिन चाहँदैनन्’ भन्ने आवाज बलियो बन्दै जाँदा यादवप्रति जनलहर बढेको विश्लेषण गरिएको छ।
सेवा बनाम स्वार्थको लडाइँ
यस पटकको निर्वाचनलाई बारा–२ मा केवल राजनीतिक प्रतिस्पर्धाका रूपमा मात्र नभई ‘सेवा बनाम स्वार्थ’ र ‘काम बनाम भाषण’को लडाइँका रूपमा हेरिएको छ। संघर्ष, सेवा र समर्पणबाट खारिएका यादवको राजनीतिक यात्राले यस पटकको परिणाममा निकै ठूलो प्रभाव पार्ने देखिएको छ।
जनताको अनुभव र विश्वासलाई नै आफ्नो मुख्य शक्ति मानेका यादव यतिबेला घरदैलो र जनसंवाद कार्यक्रम मार्फत मतदाताको मन जित्न व्यस्त हुनुहुन्छ।