अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२६ को पुरुष टी-२० विश्वकपबाट बंगलादेशलाई बाहिर राख्ने निर्णय गरेको छ। भारतमा हुने विश्वकपमा सुरक्षाको कारण देखाउँदै खेल्न नजाने अडान राखेपछि आईसीसीले बंगलादेशको स्थानमा स्कटल्याण्डलाई समावेश गरेको हो।
लामो समयदेखि बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) र आईसीसीबीच चलेको विवाद अन्ततः बंगलादेशको बर्हिगमनसँगै टुङ्गिएको छ। यो निर्णयसँगै अब फेब्रुअरी ७ देखि सुरु हुने विश्वकपको समूह 'सी' मा नेपालसहित इङ्गल्याण्ड, वेस्ट इन्डिज, इटाली र स्कटल्याण्ड रहनेछन्।
विवादको जड: मुस्ताफिजुर रहमान र कूटनीतिक तनाव
यो विवादको सुरुवात इन्डियन प्रिमियर लिग (आईपीएल) बाट भएको थियो। कोलकाता नाइट राइडर्सले बीसीसीआईको आग्रहमा बंगलादेशी पेसर मुस्ताफिजुर रहमानलाई रिलिज गरेपछि दुई देशबीच कूटनीतिक तिक्तता बढेको थियो। यसैको प्रतिक्रियास्वरूप बीसीबीले आफ्ना खेलहरू भारतबाट श्रीलंकामा सार्नुपर्ने माग आईसीसीसमक्ष राखेको थियो।
आईसीसीको अडान र सुरक्षा मूल्यांकन
आईसीसीले स्वतन्त्र सुरक्षा निकायहरूबाट गराएको मूल्यांकनमा भारतमा बंगलादेशी टोली, अधिकारी वा समर्थकलाई कुनै "वास्तविक वा प्रमाणित सुरक्षा खतरा" नरहेको निष्कर्ष निकालेको थियो। आईसीसीले बंगलादेशलाई आफ्नो अडान पुनरावलोकन गर्न जनवरी २१ मा २४ घण्टाको अन्तिम समय (अल्टिमेटम) दिएको थियो। तर, बीसीबीले उक्त समयसीमाभित्र भारत जान सहमति नजनाएपछि शनिबार आईसीसीले औपचारिक रूपमा बंगलादेशलाई प्रतिस्थापन गर्ने निर्णय गरेको हो।
पाकिस्तानको समर्थन, अन्यको असहमति
आईसीसी बोर्ड बैठकमा बंगलादेशको मागलाई पाकिस्तान क्रिकेट बोर्ड (पीसिबी) ले मात्र समर्थन गरेको थियो। बाँकी सबै सदस्य राष्ट्रहरूले आईसीसीको सुरक्षा प्रतिवेदनमाथि विश्वास गर्दै बंगलादेशको मागलाई अस्वीकार गरेका थिए। आईसीसीले खेल तालिका परिवर्तन गर्दा खराब नजिर बस्ने र विश्वकपको गरिमामा आँच आउने बताएको छ।
आर्थिक र खेलकुदमा ठूलो धक्का
यो निर्णयसँगै बंगलादेशले पहिलो पटक पुरुष टी-२० विश्वकप गुमाउने भएको छ। सहभागिता शुल्क र राजस्व बाँडफाँडबाट प्राप्त हुने करोडौँ रकम गुमाउनुका साथै बंगलादेशमाथि आईसीसीले जरिवाना समेत लगाउन सक्ने सम्भावना छ। यता, खेलाडीहरू खेल्न इच्छुक भए तापनि बोर्डको अडानका कारण उनीहरूले ठूलो अवसर गुमाएका छन्।