निवर्तमान निर्वाचित जनप्रतिनिधि प्रदीप यादवले वीरगंज क्षेत्रमा शान्ति, सद्भाव र आपसी भाइचारालाई कायम राख्न सबै नागरिकसँग संयम अपनाउन अपील गरेका छन् ।
आज एक सार्वजनिक अपील जारी गर्दै यादवले आफू केवल पूर्व जनप्रतिनिधि मात्र नभई यही माटोमा जन्मिएको एक जिम्मेवार वीरगंजवासीको हैसियतले संवेदनशील परिस्थितिमा सबैसँग विनम्र आग्रह गर्न चाहेको उल्लेख गरेका छन् ।
वीरगंज सधैंदेखि हिन्दू–मुस्लिम समुदायबीचको आपसी सहअस्तित्व, प्रेम र सद्भावको सुन्दर उदाहरण रहँदै आएको सहर भएको उल्लेख गर्दै उनले धर्म, संस्कार फरक भए पनि सबैको साझा भविष्य एउटै रहेको बताए । यही आपसी सामंजस्यले वीरगंजलाई विशिष्ट पहिचान दिएको उनको भनाइ छ ।
यादवले पछिल्लो समय केही भ्रम, अफवाह र उक्साहटका कारण समाजमा तनाव सिर्जना गर्ने प्रयास भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै कुनै पनि भड्काउने गतिविधिमा नफस्न सबैलाई आग्रह गरेका छन् । सामाजिक सञ्जाल वा अन्य माध्यमबाट फैलाइने गलत सूचनाप्रति सचेत रहनु आवश्यक रहेको उनले बताएका छन् ।
उनले धर्म, जात वा समुदायभन्दा माथि उठेर एकअर्काको सम्मान गर्न, संयम अपनाउन र आपसी सद्भावलाई अझ मजबुत बनाउन आह्वान गरे । शान्ति कायम राख्नु केवल प्रशासनको मात्र नभई सबै नागरिकको साझा जिम्मेवारी भएको यादवको भनाइ छ ।
“वीरगंज शान्तिको सहर हो, सद्भावको सहर हो,” भन्दै उनले वीरगंजको गौरव जोगाउन सबै मिलेर एकता र भाइचाराको सन्देश फैलाउनुपर्नेमा जोड दिएका छन् ।
यसैक्रममा यादवले समाजमा द्वन्द्व उत्पन्न गराउने व्यक्ति जहाँसुकैका भए पनि उनीहरूको पहिचान गरी कानुनी दायरामा ल्याउन वर्तमान प्रधानमन्त्री सुशीला कार्कीसँग आग्रह गरेका छन् । साथै, नेपाल सरकारद्वारा संवाद, सद्भाव र शान्ति स्थापनाका लागि गरिने प्रत्येक प्रयासमा आफूले सक्दो सहयोग र समर्थन गर्ने प्रतिबद्धता पनि सार्वजनिक रूपमा व्यक्त गरेका छन् ।