जिल्लाभर शीतलहर र कडा जाडो सुरु भएसँगै बाक्लो हुस्सु फैलिएको पर्सामा बालबालिका, जेष्ठ नागरिक, गर्भवती, सुत्केरी, सीमान्तकृत तथा गरीब समुदाय सबैभन्दा बढी जोखिममा परेका छन् । यस्तो अवस्थामा शीतलहरको प्रभाव न्यूनिकरण गर्न जिल्ला प्रशासनले सबै नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रशासनका अनुसार जाडो र हुस्सुले स्वास्थ्य, दैनिकी र पशुपालनसमेत प्रभावित गर्न सक्ने भएकाले न्यानो कपडा प्रयोग गर्ने, घर बाहिर अनावश्यक समय नबस्ने, आगो र विद्युतीय उपकरण प्रयोग गर्दा विशेष सावधानी अपनाउने जस्ता उपाय अपनाउन अनुरोध गरिएको छ ।
साथै ज्वरो, खोकी, दम बढ्ने, सास फेर्न गाह्रो हुने, झाडापखाला लाग्ने जस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्यकर्मीको सम्पर्कमा जान प्रशासनले आग्रह गरेको छ ।
शीतलहरका कारण पशुपन्छीसमेत जोखिममा पर्ने भएकाले गोठ न्यानो र सफा राख्न, खुला स्थानमा नछोड्न तथा बिरामी परेमा नजिकको पशु चिकित्सालय वा पशु सेवा शाखामा सम्पर्क गर्न भनिएको छ ।
हुस्सु तथा कुहिरोका कारण सडक दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले सवारी साधन चलाउँदा गति सीमित गर्न, फग लाइट तथा आवश्यक परे हेडलाइट बाल्न र सतर्कताका साथ यात्रा गर्न प्रशासनले सबैलाई आग्रह गरेको छ ।