वीरगञ्जको सामुदायिक रेडियो नारायणी एफएम १०३.८ मेगाहर्जले आफ्नो २० औं वार्षिकोत्सवमा समाचार वाचन प्रतियोगिता आयोजना गरेको छ ।
आइतबार भएको प्रतियोगितामा रेडियोकर्मी माधव तिमिल्सिना प्रथम, लक्ष्मी खरेल द्वितीय र सुर्यनारायण विक तृतीय भएका छन् । पहिलो भएका तिमिल्सिनाले नगद २० हजार प्राप्त गरेका छन् । खरेलले १५ हजार र तृतीय भएका विकले १० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।


त्यसैगरी सुरेश बिडारी, बिमला गुप्ता र आर्जु देवकोटाले जनही ५/५ हजार रुपैयाँको सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । वीरगञ्ज कलेज, वीरगञ्ज पब्लिक कलेज र ज्ञनदा एकेडेमीका प्रतिस्पर्धीमध्ये प्रत्येक शिक्षण संस्थाका एकएक जनालाई सान्त्वना पुरस्कार र प्रमाणपत्र दिइएको थियो ।

वार्षिकोत्सव समारोहका प्रुमख अतिथि वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले महानगर स्थानीय सञ्चारमाध्यमको प्रबद्र्धनमा प्रतिबद्ध रहेको बताए । सखुवाप्रसौनी गाउँपालिका प्रमुख जसवन्त यादवले स्थानीय सञ्चारमाध्यमलाई उकास्न सहयोग र सहकार्य गर्ने बताए ।
रेडियोका अध्यक्ष गोविन्द देवकोटाले सामुदायिक रेडियोहरुले अनेक व्यावसायिक चुनौतीका बाबजुद समुदायको हितमा काम गरेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेस प्रदेशका लेखा समिति संयोजक केसी लामिछाने, महासंघका मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा, पर्सा शाखा अध्यक्ष ओमप्रकाश खनाल, वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपाललगायतले स्थानीय सरकार र सञ्चारमाध्यमबीच सहकार्यको आवश्यकता औंल्याएका थिए ।
रेडियोका कार्यकारी निर्देशक शिवनाथ यादवले सञ्चालन गरेको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकलगायतको उपस्थिति थियो ।





