मधेश प्रदेशमा सात दलीय सहमतिको आधारमा नयाँ सरकार गठनको दाबी आजै पेश गरिँदैछ, जुन दाबी पेस गर्ने कानुनी रूपमा अन्तिम दिन पनि हो। कांग्रेस नेतृत्वमा सरकार बनाउने आन्तरिक समझदारी बनेसँगै गठबन्धन दलहरू दाबी पेस गर्न अन्तिम तयारीमा निस्किएका छन्।
बिहीबार मध्यान्हदेखि सुरु भएको कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीबीचको बैठक करिब आठ घण्टापछि साँझ अबेर मात्रै टुंगिएको हो। चार मधेस–केन्द्रित दलबीच सहमति निर्माणको जिम्मेवारी दिइएको बैठकले अन्ततः सातै दललाई एउटै सूत्रमा बाँध्दै कांग्रेस नेतृत्वमा संयुक्त सरकार बनाउने सहमति पक्का गरेको हो।
कांग्रेसका एक सांसदका अनुसार, “मुख्यमन्त्री कांग्रेसकै हुने विषयमा सातै दल एकमत भइसकेका छन्। अन्तिम हस्ताक्षर भने भोलि बिहान गर्ने सहमति भएको छ,” उनले बताए।
जसपा संसदीय दलका नेता सरोजकुमार यादवले पनि बैठकले नयाँ मुख्यमन्त्रीको नाम टुंगो लगाइसकेको पुष्टि गरे। “नाममा सहमति भइसकेको छ, अहिले गोप्य छ। भोलि दिउँसो २ बजे नै सातै दल मिलेर प्रदेश प्रमुखसमक्ष सरकार गठनको दाबी पेश गर्छौं,” उनले भने।
उनका अनुसार, मुख्यमन्त्रीको शपथसँगै पहिलो चरणमै सबै दलका मन्त्रीहरूको सामूहिक शपथ ग्रहण गराउने तयारी भएको छ। प्रारम्भिक रूपमा मुख्यमन्त्री टुंग्याइएको भए पनि मन्त्रालयहरूको अन्तिम भागबन्डा भने शपथपछि मात्र तय गरिने बताइएको छ।