मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिने तयारी गरेका छन्। आज बिहान साढे ८ बजे विश्वासको मत लिन आह्वान गरिएको प्रदेश सभा बैठकमा मुख्यमन्त्री नै नपुग्दा बैठक दिउँसो २ बजे सम्मका लागि स्थगित गरिएको छ।
१०७ सदस्यीय प्रदेश सभामा सरकारको विश्वास कायम राख्न कम्तिमा ५४ मत आवश्यक पर्छ। तर एमालेसँग सभामुखसहित मात्र २५ सांसद छन्, जसमा एकजना निलम्बित छन्। उनका साथमा नेपाल संघीय समाजवादी र राप्रपा दलका एक–एक सांसद छन्।
सात दलीय गठबन्धनमा ७३ सांसद छन्। कांग्रेस २२, जसपा नेपाल १८, जनमत १३, माओवादी केन्द्र ९, लोसपा ८, नेकपा एकीकृत समाजवादी ७ र नागरिक उन्मुक्ति पार्टी १ सांसदको साथमा छ।
यसैबीच, पार्टीको निर्णय विपरीत प्रदेश सरकारमा वन तथा वातावरण मन्त्री बनेकी राप्रपाकी कञ्चन बिच्छाको सांसद पद खारेजको प्रक्रिया सुरु भएको छ। राप्रपाले आइतबार प्रदेश सभा सचिवालयमा पत्राचार गरी उनको पद फिर्ता बोलाएको छ।
सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेपछि मुख्यमन्त्री यादवले आजको बैठक बोलाएका हुन्। संविधानको धारा १६८(२) अनुसार गत असोज २९ गते मुख्यमन्त्री नियुक्त लोसपा नेता जितेन्द्र सोनलले विश्वासको मत नपाउने निश्चित भएपछि कात्तिक २२ गते राजीनामा दिएका थिए।
तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले कात्तिक २४ गते यादवलाई शपथ खुवाएपछि विवाद सुरु भएको थियो। असन्तुष्ट दलहरूले सर्वोच्चमा रिट दायर गरेपछि अदालतले मंसिर १५ गते परमादेश जारी गरेको थियो।