नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘बेवारिसे’ ठहर गर्दै यसले संविधान, संसद् र दलको मञ्जुरी नपाएको बताएका छन्।
आइतबार गुण्डुस्थित निवासमा प्रेस चौतारी नेपालसँगको छलफलमा ओलीले भने, “यो सरकार संविधानबाट बनेको होइन, संसदबाट बनेको होइन, दलबाट बनेको होइन, जेन–जीबाट पनि मेरो सरकार होइन भन्छ। आखिर, यो सरकार कसको प्रतिनिधि हो?”
उहाँले वर्तमान सरकारले तोडफोड र आगलागीमा संलग्न समूहप्रति दण्डहीनता दिएको, ज्ञापनपत्रमार्फत सरकारी निर्देशनमा समूह खडा गरिएको र सरकारी ड्राफ्टमा हस्तक्षेप भएको दाबी पनि गरे।
अध्यक्ष ओलीले मुलुकको अनिश्चय संसद पुनर्स्थापना गरेर मात्र समाधान हुनसक्ने बताए। “असंवैधानिक र अनधिकृत तरिकाले संसद् विघटन जारी रहे, नजिर बस्नेछ। देशलाई संवैधानिक बाटोमा फर्काउन अहिले नै कदम चालिनुपर्छ,” उनले दोहोर्याए।
साथै, ओलीले प्रेस स्वतन्त्रता पञ्चायतकालीन अवस्थामा झैं अवरुद्ध भएको र पत्रकारले सेल्फ–सेन्सरसिपको मार खेप्नुपरेको पनि आरोप लगाए। छलफलमा प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले सञ्चारमाध्यमको अवस्था, पत्रकार सुरक्षा संवेदनशीलता र संगठनका गतिविधिबारे जानकारी दिएका थिए।