वीरगञ्जस्थित सामुदायिक रेडियो नारायणी एफएम १०३.८ मेगाहर्ज ले आफ्नो २०औं वार्षिकोत्सवको अवसरमा ‘समाचार वाचन प्रतियोगिता’ (Anchoring/Presentation Contest) आयोजना गर्ने भएको छ।
प्रतियोगिता स्थानीय प्रतिभा पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिने आयोजकले जनाएका छन्। विशेषगरी युवा वर्गलाई समाचार वाचन तथा प्रस्तुतीकरण कौशल विकासमा प्रोत्साहित गर्नु प्रतियोगिताको मुख्य लक्ष्य हो। सहभागीहरूलाई आफ्नो सञ्चार क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरिनेछ।
एफएमका कार्यकारी निर्देशक शिवनाथ यादव का अनुसार, नारायणी एफएमले विगत दुई दशकदेखि समुदायका आवाजलाई मुखरित गर्दै समाचार, शिक्षा, मनोरञ्जन र सामाजिक सचेतनाका कार्यक्रमहरू प्रसारण गर्दै आएको छ। यस अवधिमा संस्थाले स्थानीय स्तरमा सकारात्मक प्रभाव पार्न सफल भएको उनले बताए।
वार्षिकोत्सवको विशेष कार्यक्रम अन्तर्गत सञ्चालन हुने प्रतियोगिताबाट स्थानीय प्रतिभाको पहिचान र व्यावसायिक विकासमा टेवा पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।
पुरस्कार विवरण
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिस्पर्धीहरूलाई आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ:
प्रथम पुरस्कार: रु. २०,०००/-
दोस्रो पुरस्कार: रु. १५,०००/-
तेस्रो पुरस्कार: रु. १०,०००/-
सान्त्वना पुरस्कार: रु. ५,०००/-
प्रतियोगिता २०८२ साल मंसिर ६ गते (शनिबार) आयोजना गरिनेछ। कार्यक्रम स्थलको जानकारी पछि सार्वजनिक गरिनेछ।
आवेदन प्रक्रिया
प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिहरूले एफएमको वेबसाइटमा रहेको “Apply Now” बटन मार्फत आवेदन फाराम डाउनलोड गर्न सक्नेछन्। फाराम भरेर प्रत्यक्ष रूपमा एफएम कार्यालयमा बुझाउनुपर्नेछ। कार्यालयमै पनि फाराम उपलब्ध हुने जानकारी दिइएको छ।
प्रतियोगितामा कुनै उमेर सीमा छैन। इच्छुक व्यक्तिहरू जुनसुकै उमेर समूहका भए पनि सहभागी हुन सक्नेछन्। साथै, समाचार वाचनका लागि प्रयोग हुने भाषा प्रतिस्पर्धीले आफूसँग अनुकूल छनोट गर्न सक्नेछन्।
फाराम बुझाउने अन्तिम मिति: मंसिर १ गते साँझ ५ बजेसम्म। नारायणी एफएमले सञ्चार क्षेत्रमा रुचि राख्ने सम्पूर्ण प्रतिभाहरूलाई समयमै आवेदन गरी यस अवसरको लाभ लिन आह्वान गरेको छ।
आवेदन फाराम :