कात्तिक शुक्ल पूर्णिमाको अवसरमा सिरहाको पश्चिमवर्ती कमला नदीमा आज बिहानैदेखि हजारौँ श्रद्धालु भेला भएका छन्। धामी–झाँक्री र उनका अनुयायीहरू ‘भूत–प्रेत निवारण’ र आत्मशुद्धिको विश्वाससहित नदीमा स्नान र पूजा गर्न पुगेका हुन्।
धनुषासँग सीमा जोडिएको कमला नदीका विभिन्न स्थानहरू: उत्तरवाहिणी, ब्यारेज, कमला पुल, सिक्रौन, चतरी, बेलहा, बडेर्वा, पटेर्वा र बसबिट्टा देखि सीमावर्ती भारतको जयनगरसम्म बिहानदेखि भक्तजनको चहलपहल देखिएको छ।
धामी–झाँक्रीहरूको दाबीअनुसार, कमला नदीमा स्नान र विशेष पूजापाठले व्यक्तिको शरीरमा रहेका नकारात्मक उर्जा र मानसिक अशान्ति हटाउन सहयोग पुर्याउँछ। सहभागी भक्तजनले बाँस वा बेतको लठ्ठी, धुपौरो र दीप लिएर स्नान र पूजा गर्ने परम्परा पालना गर्दै आएका छन्।
कर्जन्हा नगरपालिका–१ अन्तर्गतको उत्तरवाहिणी क्षेत्रमा महिलाको विशेष सहभागिता देखिएको छ। उनीहरूले पहेंलो साडी लगाएर बलिरहेको धुपौरो बोकी स्नान गर्दा धार्मिक साधना र शुद्धिकरणको प्रतीक प्रकट हुन्छ।
स्थानीय बासिन्दाका अनुसार यो सांस्कृतिक अभ्यास वर्षौंदेखि चलिआएको हो र शरीर र मनको नकारात्मकता हटाउने प्रतीकात्मक अर्थ बोकेको छ। कमला नदीको मेलामा सिरहा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट, उदयपुर, सप्तरी र भारतको बिहार राज्यका श्रद्धालुहरू सहभागी हुने गर्छन्।
धामी–झाँक्रीहरूले भनेका छन्, कमला स्नान र पूजा आध्यात्मिक शुद्धता र परिवारको कल्याणको लागि विशेष विधि हो, जसले सीमापारको सांस्कृतिक सम्बन्धलाई पनि सुदृढ बनाएको छ।