श्रद्धा र भक्ति पर्व छठलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन मधेश प्रदेश प्रहरीले एक विशेष सुरक्षा योजना लागू गरेको छ। ‘अप्रेसन आस्था’ नाम दिइएको यस योजनाअन्तर्गत प्रदेशभरका आठवटा जिल्लामा करिब सात हजार सुरक्षाकर्मी परिचालन गरिएका छन्।
मधेश प्रदेश प्रहरीका नायब महानिरीक्षक (डिआइजी) गोविन्द थपलियाले जनकपुरधाममा जानकारी दिँदै भने, “छठ पर्वको संवेदनशीलतालाई ध्यानमा राखेर विशेष सुरक्षा प्रबन्ध मिलाइएको छ। मादक पदार्थ सेवन गरेर सवारी चलाउने, झगडा गर्ने वा भिडभाडमा अव्यवस्था सिर्जना गर्ने जो कोहीलाई रोक्न हामी सक्रिय छौं।”
सुरक्षामा ट्राफिक प्रहरी, महिला प्रहरी, मोबाइल पेट्रोलिङ टोली र सादा पोसाकका सुरक्षाकर्मी समेत समावेश छन्। डिआइजी थपलियाका अनुसार घाट, तलाउ, नदी किनार, बजार क्षेत्र र मुख्य राजमार्गहरूमा प्रहरी बलले विशेष सतर्कता अपनाउनेछ।
उनले जनतालाई चेतावनी दिँदै भने, “मादक पदार्थ सेवन गरेर सवारी चलाउने वा सार्वजनिक स्थलमा हुलदङ्गा गर्ने जो कोहीलाई कडा कारबाही गरिनेछ। अत्यधिक भिडभाड हुने क्षेत्रमा सिसी क्यामेरा, सुरक्षा चौकी र मोबाइल गस्ती टोलीको व्यवस्था गरिसकिएको छ।”
डिआइजी थपलियाले छठ पर्व आस्था र श्रद्धासँग जोडिएको पर्व भएकाले जनताको विश्वास र सुरक्षा सुनिश्चित गर्न प्रहरी बलले पूर्ण सक्रियता अपनाउने प्रतिबद्धता व्यक्त गरे।