मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले छठ पर्व सम्पन्न भएपछि प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। उनी गत असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए। संविधान अनुसार नियुक्ति भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको छ।
मुख्यमन्त्री सोनलले चाडपर्वका कारण प्रक्रिया ढिलो भएको बताउँदै भने, “छठपछि विश्वासको मत लिने तयारीमा छौं।”
सोनल जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र नेकपा (एकीकृत समाजवादी) को समर्थनमा मुख्यमन्त्री बनेका हुन्।
यी पाँच दलका सांसद संख्या ५७ छ (जसपाका १९, जनमतका १३, माओवादी केन्द्रका ९, लोसपाका ९ र एकीकृत समाजवादीका ७ जना सांसद) १०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ५४ मत आवश्यक पर्छ।
तर, जनमत पार्टीका प्रदेशसभा सदस्य तथा पूर्वमुख्यमन्त्री सतिश कुमार सिंह र पूर्वमन्त्री त्रिभुवन साह जनमतबाट फुटेर बनेको जनस्वराज पार्टीमा सनाखत गरिसकेका छन्। यद्यपि, जनमत पार्टीको विभाजनसम्बन्धी निर्वाचन आयोगको निर्णय सर्वोच्च अदालतले हाललाई रोक लगाएको छ। त्यसैले अदालतको अन्तिम निर्णय नआउँदासम्म उनीहरू जनमतकै सांसदका रूपमा रहनेछन् र सोही दलको ह्वीप लागू हुनेछ।
यता, जसपा नेपालका सांसद सरोज सिंह कुशवाहा निलम्बनमा परेकाले विश्वासको मतमा सहभागी हुन पाउने छैनन्। यस्तो अवस्थामा जनमतका दुई सांसदले मत नदिए पनि सोनलको समर्थन संख्या ५४ मा सीमित हुने सम्भावना छ।
मुख्यमन्त्री सोनल भने विश्वासको मत पाउनेमा विश्वस्त छन्। उनले भने, “विश्वासको मतका लागि कुनै समस्या हुँदैन।”