वीरगंज । विदेश गएको नेपाली युवा फर्किएर स्वदेशमा सरकारी जागिर खाने या उद्यम गर्ने भन्ने कुरा प्रायः अहिले कुनै युवामा पाइदैन । अध्ययन या कामका खोजीमा बिदेशिएका युवा उतै रमाउने र उतै बस्ने गरेको पाइन्छ । तर वीरगन्जका साकेत क्याल भने यसको अपवाद बनेका छन् । उनी विदेशमा पढाई सकेर अहिले फर्किइएपछि नेपालमा नै आहारपूरक औषधी उद्योग संचालन गरेर बरिहेका छन् । सरकारी कार्यालयहरुको क्षेत्राधिकार हानथापले भने उनले सञ्चालनमा ल्याएको नेपालकै नमूना उद्योग मध्येको यो उद्योगको भविष्य भने अन्योलमा परेको पाइएको हो ।

बेलायतबाट फार्मेसीमा स्नातकोत्तर गरेर क्याल नेपाल आई बाराको लिपनीमालमा जयश्री हेल्थ केयर उद्योग सञ्चालन गरिरहेका छन् । ५० करोड जतिको लगानीमा उनले नेपालकै पहिलो आहारपूरक औषधी उद्योग संचालनमा ल्याएका छन् । स्वदेश फर्किएका क्यालले शुरूमा सरकारी जागिर खाने सोच नबनाएका होइनन् । उनले लोकसेवा आयोगको परिक्षा पनि पास गरेको बताए । तर व्यापारी परिवारका उनले आफूलाई जागिरमा सीमित राख्न नचाहेको पनि बताए ।
‘लोकसेवा पास गरेर पनि जागिरमा गइनँ, व्यापारतिर लागेँ’ उनले भने । १०/१२ वर्षजति औषधिको व्यापार गरेपछि त्यही अनुभवलाई उद्यममा लगाएको छु,’ उनले भने । क्यालले औषधी र आहारपूरकको एक दशकभन्दा लामो व्यापारको अनुभवलाई समेट्दै २ वर्षअघि उद्योग खोल्ने योजना बनाएका थिए । सरकारी तथ्यांक अनुसार नेपालमा वर्षेनी करीब डेढ अर्ब रुपैयाँ बराबरको आहारपूरक औषधी आयात हुन्छ । यो वैध तरिकाले भित्रिएको परिमाण मात्र हो । यस्ता उत्पादनको औपचारिकभन्दा अनौपचारिक आयात बढी भइरहेको दाबी व्यवसायीको छ ।

दुवै खालको आयात जोड्दा वार्षिक ६ अर्ब रुपैयाँ बराबरको आहारपूरक आयात हुन्छ । अहिले ३० ओटा उत्पादन दर्ता गराएका उद्यमी क्यालले सय प्रकारका आहारपूरक औषधी ल्याउने योजना सुनाए । उनले यस्तो उत्पादनको निकासीको लक्ष्य पनि राखेको जनाए । ‘श्रीलंका, केन्या, भियतनाम, कम्बोडियालगायतका देशमा आहारपूरक औषधीको माग रहेकोले निकासीको सम्भावना छ । तर, यसमा सरकारले नीतिगत सहजीकरण गरिदिनु पर्दछ,’ उनले भने ।
सरकारको असहयोग
सरकारले कच्चा पदार्थको आयातदेखि उत्पादनको बजारीकरणसम्म झमेला सृजना गरेको कारण व्यवसायमा समस्या भइरहेको उद्यमी क्यालको भनाइ छ । कच्चा पदार्थ र प्याकेजिङ सामग्रीको आयातमा औषधी उद्योग सरह सहुलियत पाउनु पर्ने उनको दावी छ ।
सरकारले औषधी उद्योगलाई १ प्रतिशत भन्सार महशुलमा कच्चा पदार्थ र प्याकेजिङका सामग्री ल्याउन दिएकोमा आहारपूरकलाई २० देखि ४० प्रतिशतसम्म भन्सार महशुल, मूल्य अभिवृद्धि कर र कतिपयमा अन्तःशुल्कसमेत लिएको क्यालले बताए । यो नीतिले आयातित आहारपूरकसँग प्रतिस्पर्धा चुनौतीपूर्ण भइरहेको छ । यस्तोमा लागत बढी हुँदा निकासी गर्न पनि सकिन्नँ’ उनले भने ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट उत्पादनको स्वीकृति लिएर सञ्चालित यो उद्योगको उत्पादनलाई औषधी व्यवस्था विभागले अनाधिकृत भन्दै औषधी पसलबाट बिक्री गर्न नदिएको गुनासो उद्यमीको छ । आहारपूरक उत्पादन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा दर्ता हुन्छन् । औषधि व्यवस्था विभागले फार्मेसीहरूमा औषधी व्यवस्था विभागमा सूचीकृत औषधिमात्र बेच्न पाइने भनेको छ । सूचीकरण नभएका आहारपूरक भेटिएमा कारवाही गर्दै औषधी व्यवस्था विभागको भनाइ छ । ‘विभागले कारवाही गर्न थालेपछि व्यवसायीले औषधी पसलमा आहारपूरक राख्न मानेका छैनन् । यसले बजारीकरणमा समस्या सृजना भएको पनि उद्यमी क्यालको भनाइ छ ।
भिडियो :