वीरगञ्जको सिर्सिया (सरीसवा) नदी अझै पनि फोहोर र प्रदूषित बन्दै गएको छ। पटक–पटक उद्योगीहरूले ‘नदीमा फोहोर नफाल्ने’ प्रतिबद्धता जनाए पनि व्यवहारमा पालना नगरेपछि वीरगञ्ज महानगरपालिकाले मङ्गलवार सरोकारवालासँग संयुक्त छलफल गर्दै कडा चेतावनी दिएको छ।
छलफलमा उद्योगी, स्थानीय तहका प्रतिनिधि, सुरक्षा निकाय र सरकारी अधिकारीहरू सहभागी थिए। मेयर राजेशमान सिंहले उद्योगीहरूले ट्रिटमेन्ट प्लान्ट हुँदाहुँदै पनि सञ्चालन नगरी फोहोर सोझै नदीमा फाल्ने प्रवृत्ति जारी राखेकाले अब केवल ‘प्रतिबद्धता’मा सीमित नरही ठोस परिणाम देखिनुपर्ने बताए।
“कारखाना चल्नैपर्छ, तर प्रदूषण नियन्त्रण अनिवार्य छ” मेयर सिंहले भने, “अब सबै जिम्मेवार भएर अघि बढे मात्र सिर्सिया सफा हुन्छ।”
उनका अनुसार महानगरले उद्योगहरूलाई पटक–पटक जरिवाना गरेको र फोहोर उद्योगमै फिर्ता पठाउने कारबाहीसमेत गरेको भए पनि अझै अटेरी प्रवृत्ति रोकिएको छैन।
पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले सिर्सियालाई “मानव सभ्यताको प्रतीक” भन्दै यसको संरक्षण सबैको साझा जिम्मेवारी भएको बताए। उनले अटेरी गर्ने उद्योगहरूलाई चेतावनी दिँदै भने, “अब पनि फोहोर फाल्ने क्रम रोकिने होइन भने ट्रिटमेन्ट प्लान्ट बनाउनै पर्ने, नभए उद्योग बन्द गर्नुपर्ने अवस्था आउन सक्छ।”
बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले उद्योग स्थापना अनुमति दिने बेलामै प्रदूषण नियन्त्रणको दायित्व तोकिए पनि त्यसको पालना नभएको बताए। “जथाभावी प्रदूषित पानी नदीमा मिसाउनु दण्डनीय अपराध हो,” उनले भने।
मधेस प्रदेश उद्योग विभागका महानिर्देशक सुशील साहले उद्योग सञ्चालन र वातावरण संरक्षण सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिए। “केवल प्रतिबद्धताले होइन, व्यवहारिक कार्यान्वयनले मात्रै परिणाम देखिन्छ,” उनले भने।
उद्योग वाणिज्य संघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीले सबै सरोकारवाला इमानदार भएर लागे समस्या समाधान सम्भव रहेको उल्लेख गरे। वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले दीर्घकालीन समाधानका लागि एकीकृत ट्रिटमेन्ट प्लान्ट निर्माण गर्न सुझाव दिए।
त्यस्तै, जितपुर सिमरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहन शर्माले उद्योगीहरूको उपस्थिति न्यून भएकोमा चिन्ता व्यक्त गर्दै सिर्सिया सफाइलाई पर्यटनसँग जोडेर अघि बढाउने प्रस्ताव गरे।
“जितपुरको ललका पुलदेखि वीरगञ्जसम्म डुङ्गा चलाउने वातावरण बनाऔँ, त्यसपछि उद्योगीले पनि फोहोर फाल्ने काम रोकिनेछ,” उनले भने।
परवानीपुर गाउँपालिकाका अध्यक्ष राम क्षत्री प्रसाद कुर्मीले ‘उद्योग बचाउँदै नदी सफा राख्ने वातावरण’ बनाउन तयार रहेको बताए।
जितपुरसिमरा उपमहानगरपालिकाका उप–प्रमुख भोला प्रसाद अधिकारीले वीरगञ्ज महानगरको नेतृत्वमा सुरु भएको सिर्सिया सफाइ अभियान अझै निरन्तर रहनु सकारात्मक रहेको बताए। उनले केही ठूला उद्योगबाट ट्रिटमेन्ट प्लान्ट हुँदाहुँदै पनि प्रदूषित पानी सोझै नदीमा मिसाउने कार्य जारी रहेको खुलासा गरे।
छलफलमा सहभागी उद्योगीहरूले पनि सिर्सिया सफा राख्न आफूहरू प्रतिबद्ध रहेको भन्दै पानी प्रशोधनका उपायमा काम भइरहेको बताएका थिए। छलफलको निष्कर्षमा सबै पक्षले सिर्सिया सफाइलाई प्राथमिकतामा राख्ने, प्रदूषण नियन्त्रणका लागि ठोस कार्य योजना बनाउने र नियमित अनुगमन प्रभावकारी बनाउने निर्णय गरेका छन्।