नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी विद्रोहको दोस्रो दिन, भदौ २४, नेपालको इतिहासकै एक डरलाग्दो दिनको रूपमा लिपिबद्ध हुने बताएका छन्।
पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै देउवाले प्रदर्शनमा घुसपैठ भएको र आन्दोलनले अर्को रूप लिएको उल्लेख गरेका छन्।
देउवाले आफ्नो लिखित सम्बोधनमा भनेका छन्, “गत भाद्र २३ गते जेनजीको शान्तिपूर्ण प्रदर्शनको क्रममा घुसपैठ भयो र प्रदर्शनले अर्कै रूप लियो। निर्दोष नवयुवकहरूको ज्यान गयो। यस घटनाले म र हामी सबैलाई अत्यन्तै मर्माहित बनाएको छ।”
उनले थपे, “भाद्र २४ गते विहानैदेखि राष्ट्रपति भवन, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, विभिन्न मन्त्रालयहरू, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका भवन र मातहतका अदालत, मालपोत कार्यालय, प्रदेश सरकारका कार्यालयहरू, प्रहरी कार्यालयहरू, स्थानीय पालिका भवनहरू, वडा कार्यालय, राजनैतिक दलका कार्यालयहरू, नेताहरूको निजी घर र डेरा, संचार गृह तथा व्यवसायिक–व्यापारिक प्रतिष्ठानहरूमा आक्रमण, तोडफोड, लुटपाट र आगजनी गरियो।”
यी सबै घटनाबाट अकल्पनीय जनधनको क्षति भएको उनले बताए। देउवाले भने, “सम्भवत यो नेपालको इतिहासमै एउटा डर लाग्दो दिनको रूपमा लिपिबद्ध हुनेछ।”
यो घटनापछि कांग्रेस नेतृत्वले सुरक्षा, प्रशासन र ऐतिहासिक संरचनाको संरक्षण र भविष्यमा यस्ता घटनाबाट जोगिन आवश्यक कदम चाल्नुपर्नेमा जोड दिएको छ।