शनिबार बिहानदेखि आइतबार बिहानसम्मको २४ घण्टामा रौतहटको महेशपुरमा सबैभन्दा बढी ३५८ मिलिमिटर वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मधेश, कोशी र बागमतीका विभिन्न मापन केन्द्रमा अत्यधिक वर्षा भएको छ।
३०० मिलिमिटरभन्दा बढी वर्षा मापन भएका अन्य केन्द्रहरूमा इलामको हिमाली गाउँ (३३२.६ मि.मि.), कन्याम टि–स्टेट केन्द्र (३१४.२ मि.मि.), पर्सा–मुडली (३२८.६ मि.मि.) र गौर (३१५.० मि.मि.) रहेका छन्। शनिबार बिहान ०४:३० बजेदेखि आइतबार बिहान ०४:३० बजेसम्मको वर्षा मापन गरिएको हो।
असोज १९ गते बिहान ०८:४५ सम्मको विवरणअनुसार २९५ वटा वर्षा मापन केन्द्र (मानव सञ्चालित ७९, स्वचालित २१६) मध्ये १८६ केन्द्रमा वर्षा परेको छ। जसमध्ये १०५ केन्द्रमा ५० मि.मि.भन्दा बढी, ६८ केन्द्रमा १०० मि.मि.भन्दा बढी, २१ केन्द्रमा २०० मि.मि.भन्दा बढी, र ५ केन्द्रमा ३०० मि.मि.भन्दा बढी वर्षा मापन भएको छ।
विभागले ‘भारी वर्षा’ २४ घण्टामा ५०–१०० मि.मि., ‘धेरै भारी’ १००–२०० मि.मि., र ‘अति भारी’ २०० मि.मि. भन्दा बढी वर्षा हुने अवस्थामा प्रयोग हुने बताएको छ।
तीनवटा प्रदेशका बागमती, त्रिशुली, पूर्वीराप्ती, लालबकैया, कमला लगायतका नदीहरूमा जलसतह सतर्कता तह पार गरेको भए पनि हाल घट्दो क्रममा रहेको छ। आईतबार सप्तकोशी नदीले खतरा तह पार गरेको छ। सप्तकोशीका सहायक नदीहरू तमोर, सुनकोशी र अरुण, साथै कन्काई, बुढीखोला, लोहन्द्रा, खेशलिया, विरिङ नदीहरूमा समेत खतरा तह पार भए पनि अहिले घट्दो अवस्थामा रहेको विभागले जनाएको छ।
विभागका अनुसार, न्यून चापीय मौसम प्रणाली नेपाल बाहिर गएको र मनसुन कमजोर भइसकेको भए तापनि मनसुन पूर्ण रूपमा बाहिरिएको छैन। त्यसैले हालको अवस्थामा मौसम र बाढीको सम्भावित अवस्थाको नियमित अनुगमन भइरहेको छ।