आज आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा–आराधना गरिँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षको चौंथो दिन देवी कुष्माण्डाको आराधना गर्ने परम्परा रहिआएको छ ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद् देवी भागवत तथा विभिन्न देवी स्तोत्रहरूको पाठ गरिन्छ । धार्मिक विश्वासअनुसार देवीको आराधना गरी पूजा गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुन्छ भन्ने मान्यता छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा–आराधना गर्ने परम्परा छ ।
नवरात्रमा गरिएको पूजा आराधनाको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाइने गरिन्छ । यसरी लगातार १५ दिनसम्म नेपालीहरूले बडादशैं पर्व श्रद्धा र उल्लासका साथ मनाउने गर्छन् ।
दशैंलाई दुर्गा पक्षसमेत भनिन्छ । यस अवधिमा क्रमशः पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौं दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा–आराधना गरिन्छ । यी नौ रूपलाई नै सामूहिक रूपमा नवदुर्गा भनिन्छ ।
यस अवसरमा देशभरका शक्तिपीठमा विशेष पूजा–आराधना र दर्शन गर्ने भक्तजनहरूको भीड लाग्ने गर्दछ ।