नयाँ मतदाताले अब करिब डेढ महिनासम्म मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन पाउने भएका छन्। निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सुरु हुनुअघि सम्म नामावली संकलन खुला राख्ने तयारी गरेको हो।
सामान्यतया मतदानको १२० दिन (चार महिना) अघिदेखि निर्वाचन कार्यक्रम सुरु हुन्छ। आयोगका एक कर्मचारीका अनुसार, “करिब-करिब कात्तिक २१ सम्म मतदाता नामावली संकलन गर्न सकिने छलफल भइरहेको छ। सम्भवतः बिहीबारदेखि नै नामावली संकलन खुला गर्ने तयारी छ।”
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले हालै जारी अध्यादेशले मतदाता नामावली संकलनको समय तोक्ने अधिकार आयोगलाई दिएको बताए। उनका अनुसार, “अहिलेसम्म निर्वाचन घोषणा भएपछि नामावली संकलनको प्रावधान थिएन, तर अध्यादेशले त्यो बन्देज हटाएको छ।”
आयोगले प्रतिनिधिसभा उपनिर्वाचनलाई लक्षित गरी २०७९ असार १६ देखि मतदाता नामावली संकलन रोकेको थियो। तर त्यतिबेला दुई वर्षपछि मात्र निर्वाचन हुने भएकाले १८ वर्ष पुगेकाहरूमा नाम दर्ता गर्ने रुचि थिएन।
राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेसँगै अब राजपत्रमा सूचना प्रकाशित गर्ने तयारी भइरहेको छ। त्यसपछि निर्वाचन आयोगले नामावली संकलनसम्बन्धी सूचना जारी गर्नेछ।
नामावली संकलनका लागि आयोगले देशभरका जिल्ला निर्वाचन कार्यालयहरूमा बुथ राख्नेछ। भीड बढेमा कर्मचारी थपेर भएपनि व्यवस्था मिलाइने बताइएको छ। यसअघि जिल्ला प्रशासन कार्यालयहरूमा पनि नामावली संकलन हुने गरे पनि कतिपय कार्यालय जलेका कारण यसपटक काम प्रभावित हुन सक्ने देखिएको छ।
१८ वर्ष पुगेका र नागरिकताको प्रमाणपत्र बनाएका नेपाली नागरिकले आफ्नो नाम दर्ता गर्न सक्नेछन्। यसअघि मतदाता नामावली दर्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नेबारे छलफल भए पनि आगामी फागुन २१ को निर्वाचनमा भने परिचयपत्र अनिवार्य नहुने देखिएको छ।
साढे तीन वर्षअघि सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा करिब १ करोड ७७ लाख मतदाता थिए। गत असारसम्म संकलित विवरणअनुसार कुल मतदाता संख्या १ करोड ८१ लाख पुगेको आयोगले जनाएको छ। प्रवक्ता भट्टराईका अनुसार, अबको करिब डेढ महिनामा थप नयाँ मतदाता सूचीकृत हुनेछन्।