मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइन खोलामा गएको भीषण पहिरोका कारण सडक अवरुद्ध भएको छ। उक्त पहिरो पन्छाउन बुधबार दिनभर लाग्ने भएकाले यात्रुहरूलाई वैकल्पिक सडक प्रयोग गर्न सडक डिभिजन भरतपुरले आग्रह गरेको छ।
मंगलबार बिहानैदेखि ढुंगासहितको सुख्खा पहिरो खसेपछि सडक एकतर्फी खोलिएको थियो। तर दिउँसो करिब ४ः५० बजे ठूलो पहिरो खस्दा आवागमन पूर्ण रूपमा रोकिएको हो।
सडक डिभिजन भरतपुरले विज्ञप्ति जारी गर्दै भनेको छ, “मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोलामा गएको ठूलो पहिरो पन्छाउन दिनभर लाग्ने भएकाले सम्पूर्ण सवारी धनी तथा यात्रुहरूलाई वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गर्दछौं।”
दैनिकजसो समस्या
तुइन खोलामा लगातार पहिरो खस्दा सर्वसाधारणले दिनहुँ सास्ती भोगिरहेका छन्। पहिरो हटाएर सडक सञ्चालन गरिए पनि फेरि ढुंगा खस्ने क्रम रोकिएको छैन। दसैंको समयमा बाटो बन्द हुँदा यात्रुहरू मारमा परेका छन्।
वैकल्पिक बाटो
सडक अवरुद्ध हुँदा तनहुँको खैरेनीटार हुँदै डेढगाउँ निस्कने मार्ग प्रयोग गर्न सकिने जनाइएको छ। यो सडक गण्डकी प्रदेश सरकारले गौरवको योजनाका रूपमा निर्माण गरिरहेको हो, जसले मुस्ताङदेखि तराईसम्मको सम्पर्क स्थापित गर्नेछ।
प्रकाशचन्द्र भट्टराईका अनुसार दमौली–खैरेनीटारबाट बायाँतर्फ भीमाद–मानपुर हुँदै डेढगाउँ–वुलिङटार–ढोडेनी–गैंडाकोट हुँदै साना सवारीसाधन नारायणगढ पुग्न सक्छन्।
मुग्लिनदेखि खैरेनीटारसम्म करिब ७० किमि दूरी छ। खैरेनीटार–भीमाद कालोपत्रे सडक सात किमि, भीमाद–मानपुर कच्ची सडक ३५ किमि, मानपुर–डेढगाउँ कालोपत्रे ४० किमि र डेढगाउँदेखि नारायणगढ ७० किमि रहेको छ।
मोटरसाइकलका लागि वैकल्पिक बाटो
धरमपानीका स्थानीय विजय रानाका अनुसार मोटरसाइकल चालकहरूले दमौलीबाट केशवटार–सुखौरा–हुस्लाङ–धरमपानी हुँदै घुमाउने झोलुंगे पुल पार गरेर मुग्लिन–नारायणगढ सडकखण्डमा पुग्ने वैकल्पिक बाटो प्रयोग गरिरहेका छन्।