बडादसैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर तथा पूजा कोठामा नवदुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ।
पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थअनुसार हातमा चन्द्रमा जडित घण्टा धारणा गर्ने भएकाले देवीलाई ‘चन्द्रघण्टा’ नामले चिनिन्छ। नेपाल संस्कृत विश्वविद्यालयका धर्मशास्त्र विषयका पूर्व प्राध्यापक तोयराज नेपालका अनुसार यस्ता देवीको आराधनाले शक्ति प्राप्त हुने विश्वास रहेको छ।
मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् जसको घण्टामा चन्द्रमा विराजमान हुन्छिन्, उनी नै चन्द्रघण्टा हुन् भन्ने उल्लेख छ। शिरमा अर्धचन्द्रका साथै घण्टा धारणा गर्ने भएकाले पनि यो नाम रहन गएको बताइन्छ।
चन्द्रघण्टा देवीको स्वरूप पहेँलो वर्णको हुने बताइन्छ। देवीले अत्याचारी दानवीय स्वरूपको नाश गर्ने शक्ति राख्छिन्। आजको दिन मणिपुर चक्रलाई ध्यान गरी पूजा गर्ने परम्परा छ। यसरी ध्यान गर्दा अनेकौँ शक्ति प्राप्त हुने धार्मिक विश्वास पाइन्छ।
वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईका अनुसार देवीको कृपाले समग्र पाप नाश हुने विभिन्न पुराणमा उल्लेख छ। उनी सामान्य, शान्त र करुणामयी स्वरूपकी देवी हुन्। गीत–संगीत क्षेत्रमा लागेकाले विशेषतः चन्द्रघण्टा देवीको आराधना गर्ने चलन छ। आजको दिन देवीको पूजा आराधनासहित ध्यान गरेमा ललाटमा चमक प्राप्त हुने पनि जनाइएको छ।
यसअघि सोमबार घटस्थापनासँगै शैलपुत्री देवीको, मंगलबार ब्रह्मचारिणी देवीको आराधना गरिएको थियो। आज तेस्रो दिन चन्द्रघण्टा देवीलाई निष्ठापूर्वक पूजा गरिएको हो।
नवरात्रका नौ दिनसम्म घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्भागवत तथा देवी स्तोत्र पाठ गरिन्छ। नवरात्रमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ।
दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने परम्परा छ।
यसैगरी, आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म विशेष पूजा आराधना गरी विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ। यसरी नेपालीहरूले करिब १५ दिनसम्म बडादसैँ पर्व भव्य रूपमा मनाउने गर्छन्।
देशभरका शक्तिपीठहरूमा यस अवसरमा भक्तजनको विशेष भीड लाग्ने गर्दछ। बडादसैँ बाहेक पनि बुधवार, बिहीबार, शुक्रवार र शनिवार देवीको आराधनाका लागि मन्दिरमा ठूलो संख्यामा भक्तजन पुग्ने गर्दछन्।