जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारले सञ्चारकर्मी जगदीश खरेललाई सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी दिएको छ। खरेल यसअघि इमेज टेलिभिजनमा समाचार प्रमुखको पदमा कार्यरत थिए।
इमेज टेलिभिजनमा खरेलले सञ्चालन गर्ने ‘हट सिट’ कार्यक्रम निकै लोकप्रिय रहेको थियो। आइतबार मन्त्री नियुक्त भएलगत्तै सोमबार नै उनले इमेज टेलिभिजनबाट बिदा लिएका छन्।
शालीन शैलीमा सधैं खरो प्रश्न गर्ने पत्रकारको रूपमा चिनिएका खरेलको जन्म २०३९ साल साउन २२ गते दोलखामा भएको हो। उनी दोलखाको कालिञ्चोक गाउँपालिकाको सुनखानी भदौरे स्थायी घर भएका हुन्। उनले स्थानीय कालिनाग माध्यमिक विद्यालयबाट एसएलसी पास गरेपछि काठमाडौँको रत्नराज्यलक्ष्मी क्याम्पसबाट पत्रकारितामा एमए गरेका छन्। हाल उनी अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि गरिरहेका छन्।
इमेज टेलिभिजनमा लामो समय काम गरेका खरेलको पत्रकारिता यात्रा इमेज एफएमबाट सुरु भएको थियो। तीन वर्ष एफएममा काम गरेपछि २०५९ सालदेखि उनी इमेज टेलिभिजनमा काम गर्दै आएका थिए।
इमेज टेलिभिजनमा उनले रिपोर्टिङ, समाचार तथा कार्यक्रम प्रस्तोता, कार्यक्रम निर्माता हुँदै समाचार प्रमुखको जिम्मेवारी सम्हालेका थिए। साथै, खरेल विभिन्न गैरसरकारी संस्थामा आवद्ध भएर पनि काम गर्दै आएका छन्।
खरेलको आफ्नै कम्पनी मिडिया हेल्पलाइन छ। उनी यसका कार्यकारी निर्देशक तथा ‘टक अफ द टाउन’ कार्यक्रमका निर्माता र सञ्चालक समेत हुन्। यो कार्यक्रम पनि इमेज टेलिभिजनबाट प्रसारण हुँदै आएको थियो।
मिडियामार्फत उच्च तहका राजनैतिक तथा अन्य क्षेत्रका व्यक्तिसँग घनिष्ठ सम्बन्ध बनाएका खरेल सानै उमेरदेखि नै वाककलामा अब्बल मानिन्थे। निरन्तर अध्ययन र छलफलमार्फत अघि बढ्ने स्वभाव भएका खरेल पत्रकारितामा प्रश्न गर्न र जवाफ लिन दक्ष हुने चर्चित छन्।