एकातिर जेनजी आन्दोलनका क्रममा तोडफोड र आगलागीबाट वीरगन्ज महानगरपालिकालाई करिब ११५ करोड रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ भने अर्कोतिर नगरपरिषद्को मंगलबार बसेको बैठकले सहादत प्राप्त भएकाहरूको सम्झनामा शोक प्रस्ताव पारित गरेको छ।
बैठकले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले प्रस्तुत गरेको प्रतिवेदनअनुसार, आन्दोलनका क्रममा महानगरपालिकाको मुख्य भवनसहित विभिन्न संरचना जलेर नष्ट भएका छन्। वडा कार्यालयहरू र स्वास्थ्य संस्थामा भएको क्षतिको विवरण अझै संकलन भइरहेको र पूर्ण प्रतिवेदन तयार भएपछि कुल क्षतिको यथार्थ तथ्याङ्क सार्वजनिक गरिने उनले बताए।
यसैबीच नगरपरिषद बैठकले चालु आर्थिक वर्ष २०८२/०८३ को बजेट संशोधन गरी पुनर्निर्माणलाई प्राथमिकता दिने निर्णय गरेको छ। आवश्यक प्रक्रिया पूरा गर्न केही दिनमै विशेष अधिवेशन बोलाइने तयारी गरिएको छ।
बैठकमा नगर प्रमुख, उपप्रमुख, कार्यपालिका सदस्य, वडाध्यक्ष तथा विभागीय प्रमुखहरूले पुनर्निर्माण कार्य तत्काल सुरु गर्नुपर्नेमा जोड दिएका थिए।
बैठकले हालैको आन्दोलन वास्तविक जेनजी प्रदर्शनकारीद्वारा नभई बाह्य घुसपैठमार्फत आपराधिक गतिविधि गराइएको ठहरसमेत गरेको छ। प्रमुख प्रशासकीय अधिकृत कर्णका अनुसार, आन्दोलनमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानूनी कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयसँग पत्राचार गर्ने निर्णय नगरपरिषदले गरेको छ।
गत सातादेखि आन्दोलन हिंसात्मक मोड लिँदा महानगर प्रमुख राजेशमान सिंहको निवाससहित सार्वजनिक सम्पत्तिमा आगजनी भएको थियो। आगलागीबाट कार्यालयका कागजात, फर्निचर, कम्प्युटरलगायत सामग्री जलेर नष्ट भएका थिए।
प्रहरी प्रशासनले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गर्न सीसीटीभी फुटेज र प्रत्यक्षदर्शीका बयान संकलन गरिरहेको जनाएको छ। नगरपरिषद बैठकले हालको असामान्य परिस्थितिमा वीरगन्जलाई पुनः सुचारु बनाउन र जनताको सेवामा अविच्छिन्न रूपमा लागिरहने प्रतिबद्धता व्यक्त गरेको छ।