प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबार, सर्वोच्च अदालत जस्ता मुलुकका अति आवश्यक सरकारी संरचना जलाउने घटनाप्रति चिन्ता व्यक्त गर्दै सो कार्यमा संलग्न व्यक्तिलाई ‘नेपाली’ कसरी भन्ने? भनेर प्रश्न गरेकी छन्।
आज पदभार ग्रहणपछि कर्मचारीहरुलाई सम्बोधन गर्दै उनले भनिन्, “बडो आश्चर्यको कुरा छ कि अत्यन्त आवश्यक संस्थाहरु, जसले देशको शासन सञ्चालन गरेका छन्, ती भवन, ती मिसिल, ती कागज नष्ट भए। अलिकति मलाई यो देखेर लाज लागेको छ। यदि नेपाली नै भएर यो काम गरिएको हो भने तिनलाई नेपाली कसरी भन्ने?”
प्रधानमन्त्री कार्कीले यस्ता गतिविधिहरु षडयन्त्रपूर्वक भएको हुन सक्ने धारणा व्यक्त गर्दै भनिन्, “हाम्रा संस्थाहरु यस्तो अनुहार देखाउन नसक्ने अवस्थामा पुर्याइएको छ। मलाई त लाग्छ, यो एउटा प्लान वेमा, षडयन्त्रपूर्वक भएको हो कि भन्ने लाग्छ।”
उहाँले जेन–जेड युवा प्रदर्शनको क्रममा भएका यस्ता घटनाको अनुसन्धान गरेर कारबाही गरिने स्पष्ट पारिन्। “यसबारे अनुसन्धान हुन बाँकी छ। अनुसन्धान गरेर यस्ता प्रहार गर्ने, नोक्सान गर्ने, अपरिहार्य वस्तु र अत्यन्त आवश्यक संरचना माटोमेट बनाउनेहरुलाई छोड्न मिल्दैन। यो कारबाही हुनुपर्ने अवस्था हो, खोजबिन र तलास हुनुपर्ने अवस्था हो,” उनले भनिन्।
प्रधानमन्त्री कार्कीले भौतिक संरचना जलेपछि महत्वपूर्ण कागजातहरु नष्ट भएको र सरकार शून्यको अवस्थामा पुगेको बताइन्। “भौतिक क्षति बनाउन सकिन्छ, तर ती रेकर्ड, फाइल, विवरण सम्पूर्ण नष्ट भएसँगै हामी शून्यमा पुगेका छौं। हाम्रो अवस्था शून्यमा छ,” उनले थपिन्।