दशकअघि वीरगञ्जमा महिलाद्वारा सञ्चालित पत्रिका शुरू गर्नु आफैंमा चुनौतीपूर्ण कदम थियो । त्यो चुनौतीलाई स्वीकार गर्दै मध्य नेपाल मडियामार्फत पत्रकारिताको यात्रा थालेका दश वर्ष पुगेको छ । यो यात्रामा मध्य नेपाल सन्देश साप्ताहिकले प्रकाशनको निरन्तरता मात्रै कायम राखेको छैन, पत्रकारितामार्फत महिलाहरूको सशक्त नेतृत्वको अभियान चलाएको छ ।
दशौं वार्षिक उत्सव समारोहमा सहभागी वक्ताहरूले पत्रिकाले सामान्य समाचार प्रकाशनभन्दा अगाडि बढेर सामाजिक सरोकारका विषयमा उदाहरणीय काम गरेको उल्लेख गरेका छन् । चाहे त्यो महिला उद्यमशीलता होओस् कि लैंगिक समानताको मुद्दा होओस् वा पिछडिएका समुदायको आवाज सबै सरोकारमा सशक्त उपस्थिति देखाएको उनीहरूले बताएका छन् ।
पत्रकारिता आर्थिक संकट र विश्वसनीयताको संकटमा फँसेको अहिलेको समयमा मध्य नेपाल सन्देशले आफ्नो विश्वसनीयता कायम गर्दै दशक पार गर्नु समग्र नेपाली पत्रकारिताकै लागि प्रेरणादायी उपलब्धि भएको नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले बताइन् ।
‘विश्वसनीय पत्रकारिता गर्नु ठूलो कुरा हो,’ शर्माले भनिन्, ‘अहिलेको आर्थिक मन्दी र सामाजिक सञ्जालको प्रभावबीच पनि मध्य नेपाल सन्देशले विश्वसनीयता कायम गरेको छ ।
भ्रमपूर्ण सूचना र भ्रामक प्रचारहरूको बिगिबिगी भएको अहिलेको अवस्थामा तथ्यमा आधारित पत्रकारिता र आफ्नै पहिचान बनाउनु सराहनीय काम भएको उल्लेख गरिन् ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारीले पत्रिकालाई अझ परिष्कृत भएर आउन सुझाव दिए । उनले भने, ‘मध्य नेपाल व्यावसायिक पत्रकारिताको अनुकरणीय उदाहरण हो ।’
महासंघकै केन्द्रीय लेखा समितिका संयोजक केसी लामेछानेले पत्रिकाले समाजमा पत्रकारिताको उदाहरण स्थापित गरेको धारणा व्यक्त गरे । ‘पत्रकारिता सधैं पढ्न पर्ने, सधै अपडेट हुनुपर्ने र चुनौती स्वीकार गरेर अगाडि बढ्नुपर्ने पेशा हो । मध्य नेपालले आफूलाई जसरी पाठक, दर्शक र स्रोताबीचमा आफूलाई पु¥याइरहेको छ । यो जति प्रशंशा गरे पनि कम हुन्छ,’ लामिछानेको भनाइ थियो ।
महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराले मध्य नेपाललाई सशक्त सामाजिक अभियानको उपमा दिँदै महिलाहरूको आवाजलाई व्यापक बनाउन पत्रिकाको भूमिकालाई सराहना गरे ।
पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले भने मध्य नेपाललाई सामाजिक उत्तरदायित्वसहितको पत्रकारिता गर्ने उदाहरणीय संस्था बताए । हालै मध्य नेपाल मिडियाले आयोजना गरेको महिला उद्यमी अवार्डलाई सकारात्मक पहल भन्दै यसलाई समाजको रुपान्तरणमा सक्रिय अभियानको संज्ञा दिए ।
राष्ट्रिय मुक्ति पार्टीका सहमहासचिव नेजामुदिन समानीले पत्रिकाले मुस्लिम महिलासहित पिछडिएका वर्गलाई अगाडि ल्याउन योगदान दिएको बताए । उनले पत्रिकालाई समाजका बेथितिविरुद्ध उभिएको सशक्त सञ्चामाध्यम भनेका छन् ।
प्रतीक दैनिकका प्रधानसम्पादक जगदीशप्रसाद शर्माले महिलाहरू सक्षम भएर आफैं खुट्टामा उभिएको प्रमाण मध्य नेपालले देखाएको उल्लेख गरे । पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले पत्रिकालाई अझ सूचनामूलक सामग्री प्रकाशनका लागि आग्रह गरे ।
मध्य नेपाल मिडियाले पत्रकारितामा बेग्लै पहिचान बनाएको पर्सा बार एशोसिएसनका अध्यक्ष रामनारायण कुर्मीको भनाइ छ । कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले महिलालाई अगाडि ल्याउने प्रयास सराहनीय रहेको धारणा बताए । प्रेस चौतारी नेपाल, मधेश प्रदेशका अध्यक्ष लालबाबु शेषले मधेशको पत्रकारिता क्षेत्रमा पत्रिकाले उदाहरणीय काम गरेको भन्दै प्रशंसा गरेका थिए
निर्मला शर्मा (अध्यक्ष)
नेपाल पत्रकार महासंघ विश्वसनीय पत्रकारिता गर्नु ठूलो कुरा हो
मध्य नेपालले जुन उपलब्धि पाएको छ, यो उदाहरणीय नै हो । यसको लागि म धेरैधेरै बधाई दिन चाहन्छु । ३० वर्षअगाडि मैले पत्रकारिता शुरू गर्दा जुन संघर्ष थियो, त्यो संघर्ष मध्य नेपालले अहिले पनि भोग्नु परेको होला । महिलाहरूले पत्रकारिता गर्न र सञ्चारमाध्यम चलाउन एमदमै कठिन छ । अहिलेको पत्रकारिता धेरै कठिन छ । अहिले पत्रकारितामा आर्थिक मन्दी छ । त्यस्तैगरी समाचारमा विश्वसनीयता गुम्दै गएको छ । समाजिक सञ्जाललगायत इन्टरनेटको प्रविधिबाट आउने भ्रमपूर्ण सूचनाले पत्रकारिता मर्दै गएको अवस्थामा एउटा विश्वसनीय पत्रकारिता गर्नु र विश्वसनीय पत्रिका निकाल्नु ठूलो कुरा हो । त्योसँगै पडकाष्ट शुरू गर्नु एउटा कठिन काम हो । म मध्य नेपाल सन्देशको आगामी दिनको उत्तरोत्तर प्रगतिको शुभकामना दिन चाहन्छु ।
अशोक तिवारी
केन्द्रीय सचिव
नेपाल पत्रकार महासंघ
अझ परिष्कृत भएर आउन सकोस्
मध्य नेपाल सन्देशको दशौं वार्षिक उत्सवको अवसरमा बधाई र शुभकामना दिन चाहन्छु । यो पत्रिकाले पत्रकारिताको जगतमा उदाहरणीय काम गरेको छ भन्ने मलाई लाग्छ । यो पत्रिका आगामी दिनमा अझ परिष्कृत भएर आउन सकोस् । व्यावसायिक पत्रकारिताको अनुकरणीय उदाहरणको रुपमा स्थापित भएको छ । यो पत्रिका समग्र पत्रकारिताकै लागि अब्बल उदाहरण बनेको छ । यो विश्वासले निरन्तरता पाओस् ।
पत्रकारिताको मानक स्थापित गरेको छ
केसी लामेछाने
संयोजक
नेपाल पत्रकार महासंघ, केन्द्रीय लेखा समितिमध्य नेपाल साप्ताहिकको दशौं वार्षिक उत्सवको सुखद अवसरमा उभिएर दुःखद अतितलाई नियाल्दा आन्नद हुन्छ । आज मध्य नेपाल टीमलाई पनि त्यही खालको अनुभूति भएको होला । अगामी दिनको यात्रा पनि विभिन्न आरोहअवरोहसँगै अगाडि बढ्छ । यो पत्रकारिता सधैं पढ्न पर्ने, सधै अपडेट हुनुपर्ने चुनौती स्वीकार गरेर जसरी अगाडि बढ्नुभएको छ, यो प्रशंसा गर्नयोग्य काम हो । वीरगञ्जबाट प्रकाशन भइरहेको यो मध्य नेपालले आफूलाई जसरी पाठक, दर्शक र स्रोताबीचमा पु¥याइरहेको छ । त्यसले समाजमा एकखालको उदाहरण स्थापित गरेको छ । समाजका विभिन्न नागरिक सरोकारवालाको विश्वास प्राप्त गरेको छ । सबैले प्रशंसा गरिरहेका छन । यो तपाईंहरूले कमाएको सम्पत्ति हो । आउने दिनमा यसलाई कायम राख्न सफलता मिलोस् ।
श्याम बन्जारा ( अध्यक्ष )
नेपाल पत्रकार महासंघ, मधेश प्रदेश
मध्य नेपाल सशक्त सामाजिक अभियान
यो पत्रिका प्रकाशन गरेर पर्सेली पत्रकारिता क्षेत्रमा चाह्यो भने के हँुदैन भन्ने सन्देश दिन सक्नुभएको छ । त्यसको निम्ति यो टीममा जोडिएका सम्पूर्णलाई हार्दिक बधाई दिन चाहान्छ । यहाँहरूको टीम नेपाली पत्रकारिता क्षेत्रको लागि मात्र नभएर समाजकै लागि एउटा आन्दोलन हो । एउटा समाजिक अभियान हो । त्यो समाजिक अभियानभित्र हरेक प्रकारको गतिबिधि पर्दछ । यहाँले प्रकाशनले ३६ हजार महिलाहरूका आवाजलाई समाजमा उपस्थित गराएको छ । यसका लागि मध्य नेपाल सन्देशले जुन अहोरात्र भूमिका निर्वाह गरेको छ, यो उदाहरणीय छ । हामी पनि पत्रिका चलाउँछौं । तर, यहाँहरूले चलाएको पत्रिकाबाट आज हामीले पाठ सिक्नुपर्ने अवस्था छ । यो नेपाली पत्रकारिता क्षेत्रकै निम्ति एउटा पाठ हो ।
ओमप्रकाश खनाल
अध्यक्ष
नेपाल पत्रकारता महासंघ, पर्सा
सामाजिक उत्तरदायित्वसहितको पत्रकारिता
वीरगञ्ज एउटा यस्तो शहर, जसलाई आर्थिक राजधानी र औद्योगिक शहर भनिन्छ । यहाँको हावामा पनि व्यावसायिकता बग्छ भन्ने गरिन्छ । हामीले वीरगञ्जमा पत्रकारिता गरिरहँदा मेरो अनुभवले के भन्छ भने यहाँ एकाधबाहेक हामीले गरेको पत्रकारितामा व्यावसायिकता पाउन सकेको छैन । यो अवस्थामा मध्य नेपाल सन्देशले एउटा व्यावसायिक पत्रकारितालाई अगाडि बढाएर आफ्नो दशौं वार्षिक उत्सव मनाइरहेको छ, त्यो आफैमा हामी सम्पूर्ण पत्रकारका लागि खुशीको कुरा हो । यो खुशीको अवसरमा म मध्य नेपाल सन्देश परिवारलाई हार्दिक बधाई र प्रगतिको शुभकामना दिन चाहन्छु । सामान्यतः सञ्चारमाध्यमको काम समाचार प्रकाशन र प्रसारण गर्नु हो । तर, मध्य नेपाल सञ्चारकर्ममा मात्र सीमित भएन । समाजमा नेतृत्व गरिरहेका महिलाहरूलाई पहिचान दिने र उनीहरूलाई अघि बढाउने काममा अग्रसर भइरहेको छ । हालै महिला उद्यमी अवार्ड आयोजना गरेको छ । यो सामाजिक उत्तरदायित्वसहितको पत्रकारिताको बेजोड उदाहरण हो । समाजमा महिलामाथि हुने सबै खालका विभेदविरुद्ध निरन्तर खबरदारी गरिरहेको मध्य नेपाल समावेशी नेतृत्वमार्फत् समाजको सकारात्मक रुपान्तरणमा सक्रिय अभियान हो, यो अभियानले सफलता पाओस् । यसमा हामी सबैको शुभकामनामात्र होइन, साथ र सहकार्यको खाँचो छ ।
जगदीशप्रसाद शर्मा
प्रधानसम्पादक
प्रतीक दैनिक
मध्य नेपालले अझै प्रगति गरोस्
मध्य नेपाल सन्देश पत्रिकाको शुरूदेखिकै वार्षिक उत्सवहरूमा म आइरहेको छु र शुभकामना दिइरहेको छु । यस्ता कार्यक्रममा जहिले पनि महिला पत्रकार थोरै भए भन्ने कुरा उठ्छ । तर, मैले हेर्दाखेरि आज म यो मध्य नेपालको १० औं वार्षिक उत्सवको शुभकामना दिइरहँदा १० वर्षदेखि महिलाहरूले वीरगञ्जमा जेठो प्रकाशन गृहलाई पनि माथ गर्ने खालले जुन कार्यक्रमहरू गर्नुभएको छ, त्यो हेर्दाखेरि म अलमलमा छु । म पत्रकारिताको कुरा गरू वा महिलाहरूको कुरा गरू ? महिलाहरू सक्षम छन्, कसैले महिलालाई सक्षम बनाइदिनु पर्दैन । तपाईंहरूले आश के गर्नुहुन्छ कि, कसैले मलाई सक्षम बनाइ देओस् । स्वम् सक्षम हुनु पर्छ । किन कसैले सक्षम बनाइ दिनुप¥यो ? तर, आफ्नो शक्ति चिन्नुप¥यो । महिलाभित्र शक्ति छ । समाज परिवर्तनशील छ । समाजमा परिवर्तन भइरहेका छन् । समाजको परिवर्तन साथै मानिसको मानसिकतामा पनि परिवर्तन भइसकेको छ । मानिसको आवश्यकतामा पनि परिवर्तन भइरहेको छ । मध्य नेपालले अझै प्रगति गरोस् मेरो शुभकामना ।
तोयनारायण सुवेदी
प्रमुख जिल्ला अधिकारी, पर्सा
महिलाहरूको सक्रियता बढ्दै गएको छ
यो पत्रिका स्थापना भएको १० औं वार्षिक उत्सवमा छ । यो पत्रिकाको माध्यमबाट सूचनामूलक जानकारीहरू पस्किँदै सफलता हासिल गरेकोमा बधाई र शुभकामना व्यक्त गर्न चाहन्छु । मलाई लाग्छ, यो पत्रिका भन्नेबित्तिकै हामी सूचनामूलक सामग्रीहरू पाउछौं । कतिपय स्वास्थ्यका सामग्रीहरू पाउछौं । थुपै विषयबस्तु यो पत्रिकामा समेटेकोजस्तो मलाई लाग्छ । देशकै भुगोलको दृष्टिकोणले मध्यभागबाट प्रकाशित यो पत्रिकाको नाम मध्य नेपाल राखिएको रहेछ । पछिल्ला दिनमा राज्यका सबै क्षेत्रमा महिलाहरूको सक्रियता बढ्दै गएको र अवाजहरू बुलन्द हुँदै गइरहेको छ । यो पत्रिकामा पनि महिलाहरूले हातेमालो गर्दै उहाँहरूकै प्रयासबाट छापिएको पत्रिका हो । अगामी दिनमा यो अरू विषयबस्तुको साथमा आओस् । महिला उद्यमीहरू कसरी आफ्नै खुट्टामा उभिएर आय आर्जनमा कसरी लाग्न सकिन्छ ? हाम्रा मूल्यमान्यता परम्पराहरू त्यसलाई कसरी परिवर्तन गर्न सकिन्छ ? लौंगिक हिंसा कसरी न्यूनीकरण गर्न सकिन्छ र समाजलाई सही मार्गमा कसरी डो¥याउन सकिन्छ ? सबैलाई यो मार्गमा लाग्नको लागि प्रेरणा दिने खालका सन्देश छापियो भने राम्रो हुन्छ ।
रामनारायण कुर्मी (अध्यक्ष)
पर्सा जिल्ला अदालत नेपाल बार एशोसिएसन
पत्रकारितामा बेग्लै पहिचान बनाएको छ
१० वर्षअघि महिलाहरूबाट मात्र सञ्चालित भएर शुरू भएको मध्य नेपाल सन्देश साप्ताहिक पत्रिका आज यसमा कन्टेन्टहरू, त्यसमा भएका सामग्रीहरू र विभिन्न क्षेत्रका विषयबस्तु समेटेर निरन्तर १० वर्ष सञ्चालन गरेकोमा यस पत्रिकाका सम्पूर्ण टीमलाई म बधाई दिन चाहन्छु । यो पत्रिकाले हरेक क्षेत्रको कुरा राखेर साप्ताहिक रुपमा हामीसमक्ष पुग्ने गरेको छ । मध्य नेपालले पत्रकारितामा बेग्लै पहिचान बनाएको छ । यसैगरी अन्नतकालसम्म आफ्नो छाप छोड्दै हामीलाई समाजको हरेक कुरा पस्किँदै जाओस्, शुभकामना ।
हरि गौतम ( अध्यक्ष )
वीरगञ्ज उद्योग वाणिज्य संघ
महिलालाई अगाडि ल्याउने काम गरेको छ
मध्य नेपालले १० वर्ष पूरा गरेकोमा शुभकामना दिन चाहन्छु । पत्रपत्रिकामा वीरगञ्ज धेरै उदार छैन । मध्य नेपाल आज एउटा संस्था भयो । यसले पत्रिका सञ्चालन ग¥यो, अनलाइन सञ्चालन ग¥यो र टिभी, पडकाष्ट सञ्चालन ग¥यो । मध्य नेपाल स्थापित भयो सबैभन्दा खुशीको कुरा यही हो । मध्य नेपाल राम्रो हाओेस् म शुभकामना व्यक्त गर्दछु । मध्य नेपालले पत्रिकामात्रै विकास गरेन, यहाँका महिलाहरूलाई अगाडि ल्याउने काम गरेको छ । यो राम्रो काम गर्नुभयो । उहाँले महिला उत्थानको सराहनीय काम गर्नुभएको छ । तपाईंले यहाँको समाजलाई परिवर्तन गर्न खोज्नुभइरहेको छ । त्यसमा हामी तपाईँको साथ छौं । मध्य नेपाल अझै राम्रो होओस् ।
लालबाबु शेष (अध्यक्ष )
प्रेस चौतारी नेपाल, मधेश प्रदेश
पत्रकारिता क्षेत्रमा उदाहरणीय छ
मध्य नेपाल सन्देशको दशौं वर्षिक उत्सवको शुभकामना व्यक्त गर्दछु । हामी पनि तपाईसँगै छौं । हामी जुन संस्थामा बसेर काम गरे पनि सबैभन्दा पहिला पत्रकार हौं । मध्य नेपालले मधेशको पत्रकारिता क्षेत्रमा उदाहरणीय काम गरेको छ । यसले निरन्तरता पाओस् । आजको यो १० वर्षको उत्सवको लागि बधाई, आगामी दिनको शुभकामना ।
नेजामुदिन समानी
सहमहासचिव
राष्ट्रिय मुक्ति पार्टी
पिछडिएको वर्गलाई अगाडि ल्याएको छ
मध्य नेपाल सेन्देशको वार्षिक उत्सवमा सफलताको शुभकामना दिन चाहान्छु । मधेशको जिल्लामा मध्य नेपालले महिलाहरूलाई अघि ल्याउने काम गरेको छ । यो पत्रिकामा एकजना मुस्लिम बहिनीले पनि काम गरेको देखेँ । मुस्लिम समाजमा महिलाहरू पिछडिएका हुन्छन् । अहिले तपाईंहरूको कारणले बाहिर आउने जुन प्रयास भइरहेको छ, सकारात्मक छ ।