पर्सा राष्ट्रिय निकुञ्जको पथलैया–अम्लेखगञ्ज सडकखण्डमा बाघको लगातार आक्रमणले स्थानीय बासिन्दा त्रसित बनेका छन्। पछिल्लो दुई महिनामा मात्र तीन जनाको ज्यान गुम्दा मानव–वन्यजन्तु द्वन्द्व थप गहिरिएको छ।
ज्यान गुमाउनेमा जीतपुरसिमरा उपमहानगरपालिकाका चन्द्रबहादुर बोलाङ्ग, कृष्ण कुमार शर्मा र रमेश कार्की रहेका छन्। उनीहरूमध्ये दुई जनालाई जंगलमा घाँस–दाउरा गर्ने क्रममा र एक जनालाई सडक किनारमा बाघले आक्रमण गरेको स्थानीय स्रोतले जनाएको छ।
वडाध्यक्ष शेखरकाजी रुम्बाले भने, “नरभक्षी बाघ नियन्त्रणका लागि निकुञ्ज र वन कार्यालय बेवास्ता गरिरहेको छ।”
तर, पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले भने, “बासस्थान क्षेत्रमा मानिसहरू प्रवेश गर्दा यस्ता दुर्घटना हुने गर्छन्। यसलाई ‘मानवीय त्रुटि’ मान्नुपर्छ र मानिसहरूले आफ्नो व्यवहारमा परिवर्तन ल्याउनुपर्छ।” उनले वन्यजन्तुको बासस्थानमा क्षति भए राहतको व्यवस्था नभएको पनि स्पष्ट पारे।
निकुञ्ज प्रशासनले पथलैया–अम्लेखगञ्ज सडकखण्डमा सवारी साधन नरोक्न यात्रुहरूलाई आग्रह गर्दै सार्वजनिक सूचना जारी गरेको छ। त्यस्तै, निकुञ्जमा क्यामेरा जडानको काम पनि भइरहेको छ। यद्यपि, खतिवडाले वन्यजन्तु र मानिसको सुरक्षाका लागि प्रदेश सरकार, स्थानीय तह र वडाबाट पर्याप्त सहयोग नपाएको गुनासो व्यक्त गरेका छन्।
सन् २०१८ मा १८ मात्र रहेका बाघको संख्या सन् २०२२ मा ४१ पुगेको छ र आगामी गणनामा ५० नाघ्ने अनुमानले मानव–वन्यजन्तु द्वन्द्व अझ बढ्ने देखिएको छ।