गृहमन्त्री रमेश लेखकले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको दोहोर्याएका छन्। सोमबार वीरगन्जमा नेपाल प्रेस युनियन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले चीन–भारतले लिपुलेकमा द्विपक्षीय व्यापार नाका बनाउने गरी गरेको सम्झौताप्रति प्रधानमन्त्री केपी ओलीले देखाएको आपत्ति सही भएको बताए।
गृहमन्त्री लेखकले भने, “चीन–भारतले गरेको उक्त सम्झौताप्रति हाम्रो आपत्ति छ। प्रधानमन्त्री ओलीको अडान सही छ।”
नेपालको भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो भनेर भन्नाले कुनै छिमेकी मुलुकसँगको सम्बन्ध बिग्रिने छैन भनी उनले जोड दिए। “नेपालको भूमि हाम्रो हो भनेर भन्न कसैले चित्त दुखाउन आवश्यक छैन। यसो भनिए पनि कुनै पनि छिमेकी देशसँग सम्बन्ध बिग्रिंदैन,” उनले भने।
गृहमन्त्री लेखकले नेपालबाट पाकिस्तानका आतंकवादी भारत प्रवेश गरेको हल्ला गलत भएको दाबी गर्दै भने, “केही दिन अघि पाकिस्तानका तीन आतंकवादी नेपाल आएर भारत प्रवेश गरेको भन्ने हल्ला चलाइएको थियो, त्यो सत्य होइन। उनीहरू मलेशिया गएका देखिन्छन्।”
‘‘छिमेकी भारत र चीनविरुद्धको गतिविधिका लागि नेपाली भूमि प्रयोग हुन नदिने प्रतिवद्धता सरकारको रहेको छ।’’ उनले थपे ।
गृहमन्त्री लेखकले संविधान खतरामा रहेकाले यसको रक्षामा सरकार सक्रिय रहेको बताए। “संविधान र लोकतन्त्र उल्ट्याएर देशमा राजा वा राजतन्त्र फर्काउने गतिविधि बेलाबेलामा भइरहेको छ। संविधान र लोकतन्त्र खतरामा छन्,” उनले भने।
साथै, उनले कांग्रेस र एमाले गठबन्धनको १३ महिनाको कार्यकाल सफल रहेको दाबी गरे। “सरकारको स्थिरता मुख्य एजेन्डा बनाएर दुई ठूला दलको सत्तासमिश्रण बनेको छ। अर्थतन्त्र लयमा फर्किन थालेको छ र मुलुकमा शान्ति–सुरक्षाको अवस्था राम्रो छ। यी सबैले सरकार सफल भएको पुष्टि गर्छ,” उनले उल्लेख गरे।
फरक प्रसंगमा गृहमन्त्री लेखकले वीरगन्जमा फैलिएको हैजाको संक्रमण नियन्त्रण उन्मुख रहेको जानकारी दिएका छन्। उनले भने, “यहाँ आएर मैले तीनवटा अस्पतालमा गएर बिरामी र डाक्टरसँग कुरा गरेँ। बिरामीहरूले राम्रो उपचार पाइरहेको बताएका छन्। डाक्टरहरूले संक्रमण नियन्त्रण उन्मुख छ भनेका छन्।” उनले हैजाको संक्रमण फैलिनुको कारण पत्ता लगाउन विज्ञ र विशेषज्ञसहितको टोली परिचालन गरिने बताए।
पत्रकार सम्मेलन प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहानको अध्यक्षतामा भएको थियो। कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुंगटा, मधेस प्रदेशका कृषिमन्त्री जनार्दन सिंह क्षेत्री, पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरी र ओमप्रकाश शर्मा लगायतको उपस्थिति रहेको थियो।