निजी विद्यालय सञ्चालकहरूले संघीय संसदमा पेस भएको विद्यालय शिक्षा सम्बन्धी विधेयक २०७८ मा आफ्ना मागहरू सम्बोधन नभएको भन्दै आन्दोलनको घोषणा गरेका छन्।
नेशनल प्याब्सन र प्याब्सनले संयुक्त पत्रकार सम्मेलनमार्फत भोलिदेखि आन्दोलनका कार्यक्रमहरू सुरु हुने जानकारी दिएका छन्। उनीहरूको अनुसार, भोलि बिहान ११ बजेदेखि १ बजेसम्म माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म ब्यानरसहित र्याली निकालिनेछ र पुनः माइतीघर मण्डलामा आएर कोणसभा हुने छ।
त्यसैगरी, असोज ६ गते बिहान ११ बजे देशभरिका स्कुल बसहरूले नगर परिक्रमा गर्ने र काठमाडौंमा चक्रपथमा कालो झण्डा र ब्यानरसहितको र्याली गरिनेछ। सोही दिन दिउँसो १ बजे माइतीघर मण्डलामा भेला भई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र संघीय संसदको घेराउ गर्ने कार्यक्रम पनि तय गरिएको छ।
यदि यी कार्यक्रमपछि पनि माग सम्बोधन नभए, असोज ८ गतेदेखि निर्णायक आन्दोलनमा जाने चेतावनी उनीहरूले दिएका छन्।
संघ/संघटनले आफ्नो मागमा निजी शैक्षिक संस्थासँग सम्बन्धित केही अव्यवहारिक र अन्यायपूर्ण प्रावधानहरू खारेज गर्नुपर्ने बताएका छन्। विशेषगरी,
- ‘पूर्ण छात्रवृत्ति’ शब्द हटाउनुपर्ने,
- विद्यालयमा उत्पादन नहुने पोशाक, स्टेशनरी लगायतका सामग्री उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने,
- कम्पनी ऐन अन्तर्गत सञ्चालित विद्यालयलाई ‘गैर नाफामूलक’ बनाउने प्रावधान हटाउनुपर्ने,
- छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयलाई नै दिने,
- उच्च शिक्षा तथा प्राविधिक शिक्षामा सामुदायिक विद्यालयका विद्यार्थीलाई मात्र दिइने विभेदकारी आरक्षण व्यवस्था हटाउनुपर्ने आदि माग राखेका छन् ।
प्याब्सन र एनप्याब्सनका अनुसार, यसअघि पनि नेपाल सरकार, शिक्षा मन्त्रालय र प्रमुख राजनीतिक दलहरूलाई पटक–पटक ध्यानाकर्षण गराइए पनि माग सम्बोधन नभएकाले आन्दोलनमा उत्रनु परेको हो। उनीहरूले भने, "विद्यमान विधेयक जस्ताको त्यस्तै पारित भए शिक्षा नीतिमा सरकारको घोषित लक्ष्यहरू गम्भीर रूपमा प्रभावित हुनेछन्।"