प्रस्तावित शिक्षा विधेयकका केही प्रावधानहरूको विरोधमा आन्दोलन गरिरहेका निजी विद्यालयका सङ्गठनहरूले पर्सामा सांसद बिना जयसवाललाई ज्ञापनपत्र बुझाएका छन्।
प्याब्सन, एन–प्याब्सन र हिसान पर्साका प्रतिनिधिहरूको संयुक्त टोलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद तथा शिक्षा समिति सदस्य जयसवाललाई ज्ञापनपत्र बुझाएको हो। टोलीमा प्याब्सनका जिल्ला अध्यक्ष सरोज चौधरी, सचिव अशोक सङ्रौला, वरिष्ठ उपाध्यक्ष सुशिला साह र केन्द्रीय सदस्य छेडुप लामा लगायत सहभागी थिए।
निजी विद्यालय सञ्चालकहरूको भनाइ अनुसार, सरकारले दर्ता गरेको शिक्षा विधेयकमा निजी विद्यालयहरूको अस्तित्व र अधिकार कमजोर पार्ने खालका प्रावधानहरू समावेश गरिएका छन्। उनीहरूले विधेयक हालकै स्वरूपमा पारित भएमा निजी विद्यालयको भविष्य र गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरणमा गम्भीर असर पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।
ज्ञापनपत्रमार्फत सञ्चालकहरूले विधेयकका विवादास्पद प्रावधानहरू पुनरावलोकन गर्नुपर्ने, निजी विद्यालयलाई शिक्षामा महत्वपूर्ण साझेदारको रूपमा मान्यता दिनुपर्ने र नीति निर्माणमा निजी क्षेत्रको सुझावलाई प्राथमिकता दिनुपर्ने माग गरेका छन्।
ज्ञापनपत्र बुझ्दै सांसद जयसवालले निजी विद्यालय सञ्चालकहरूको मागबारे शिक्षा समितिमा छलफल गर्ने र आफूले सक्दो पहल गर्ने आश्वासन दिइन्।
यसअघि पनि प्याब्सन, एन–प्याब्सन र हिसानले विधेयक संशोधनको माग गर्दै देशभर प्रदर्शन र आन्दोलनका कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन्।