अष्ट्रेलियामा यही अगस्ट १४ देखि २४ सम्म हुने टप एण्ड टी–२० क्रिकेट सिरिजमा सहभागी हुने नेपाली राष्ट्रिय क्रिकेट टोलीको आइतबार बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, क्यान अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का लगायतले टोलीलाई बिदाइ गरे।
यसपटकको प्रतियोगितामा नेपालसहित ११ टोली सहभागी छन्। नेपालले लिग चरणमा ६ खेल खेल्नेछ। पहिलो खेल १५ अगस्टमा स्थानीय नर्दर्न टेरिटोरी स्ट्राइकसँग हुनेछ। दोस्रो खेल १६ अगस्टमा बंगलादेश ‘ए’ विरुद्ध हुनेछ। तेस्रो खेल १८ अगस्टमा मेलबर्न स्टार्स, चौथो खेल १९ अगस्टमा होबार्ट हुरिकेन्स, पाँचौं खेल २० अगस्टमा मेलबर्न रेनेगेड्स र अन्तिम लिग खेल २२ अगस्टमा पाकिस्तान शाहीन्ससँग हुनेछ।
प्रतियोगितामा पाकिस्तान शाहीन्स (पाकिस्तान ‘ए’), बंगलादेश ‘ए’, अमेरिकाको शिकागो किङ्समेन, अष्ट्रेलियाका पाँच बिग ब्यास एकेडेमी टोली — होबार्ट हुरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर्स, मेलबर्न स्टार्स र मेलबर्न रेनेगेड्स — साथै एसीटी कोमेट्स र स्थानीय एनटी स्ट्राइक सहभागी छन्।
लिग चरणपछि शीर्ष चार टोलीबीच सेमिफाइनल खेलिनेछ र विजेताले फाइनल खेलेर उपाधि निर्धारण गर्नेछ। नेपाल फाइनलसम्म पुगेमा कुल आठ खेल खेल्नेछ। सन् २०२३ को संस्करणमा पाँच टोली मात्र सहभागी भए पनि यसपटक सहभागी संख्या बढेर ११ पुगेको छ।
यो प्रतियोगिता नेपालका लागि आगामी अक्टोबरमा हुने आइसिसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिताको तयारीस्वरूप आयोजना भएको हो। नेपालले सेप्टेम्बरमा वेस्ट इन्डिजसँग ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय शृंखला पनि खेल्नेछ।
नेपाली टोली: रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेश बम, शाहब आलम।