वीरगञ्ज उद्योग वाणिज्य सङ्घको महिला उद्यमशीलता विकास समितिले आगामी भाद्र १४ गते शनिबार “बृहत् महिला सम्मेलन २०८२” आयोजना गर्न लागेको छ। सम्मेलनको मुख्य उद्देश्य पर्सा र बारा जिल्लामा विभिन्न क्षेत्रमा सक्रिय महिलाको सामाजिक पहिचान उजागर गर्नु रहेको समितिले जानकारी दिएको छ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घको सभाहलमा आयोजना हुने सो कार्यक्रममा नेपालकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिको रूपमा सहभागी हुने भएकी छन्। सम्मेलनमा “नारी शक्ति, समर्पण र सम्मान” भन्ने विषयमा कार्यशाला गोष्ठी र विभिन्न प्यानल छलफलहरू समेत सञ्चालन गरिने छ।
कार्यक्रम संयोजक निरज अग्रवालका अनुसार उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका ३० देखि ४० जना महिलाहरूलाई सम्मान गरिनेछ। त्यस्तै, राष्ट्रियस्तरमा स्थापित महिला नेतृत्वकर्ता तथा विज्ञहरूका सहभागितामा विभिन्न विधामा प्यानल छलफल पनि हुनेछ।
महिला उद्यमशीलता विकास समितिकी संयोजक डा. लक्ष्मी थापाले सम्मेलनको उद्देश्य महिला उद्यमीहरूको नेतृत्व क्षमता विकास गर्नु, उद्योग–व्यापार क्षेत्रमा महिलाको सहभागिता बढाउनु र समाजमा महिलाको पहिचान स्थापित गर्नु रहेको बताइन्। साथै सहभागी महिलाहरूलाई उद्यमशीलता, सामाजिक सेवा र राष्ट्र निर्माणमा थप प्रेरणा दिने लक्ष्य रहेको उनले बताइन्।
आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमार्फत सो कार्यक्रमको तयारीबारे जानकारी गराइएको थियो। कार्यक्रममा कार्यक्रम संयोजक निरज अग्रवाल, सह–संयोजक अनुप अग्रवाल, संयोजक डा. लक्ष्मी थापा, सङ्घका अध्यक्ष हरिप्रसाद गौतम, महिला नेतृहरू तथा पदाधिकारीहरू उपस्थित थिए।
कार्यक्रमको स्वागत मन्तव्य नेपाल रेडक्रस सोसाइटीकी गुडि साहले दिइन् भने नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष ओमप्रकाश खनालले आसन ग्रहण गरेका थिए।