बाराको सिमरामा आगामी भदौ २१ गतेदेखि २८ गतेसम्म अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। सिमरा भेट्रान क्लबको आयोजनामा हुने उक्त प्रतियोगिता “लैंगिक समानताको प्रवर्द्धन र एकाग्रता, खेलकुद क्षेत्रमा महिलालाई दिनुपर्छ नेतृत्वको अग्रसरता” भन्ने नारासहित सञ्चालन गरिने भएको हो।
शनिबार सिमरामा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको औपचारिक घोषणा गरिएको हो। सिमरा रंगशालामा रात्री समयमा सञ्चालन हुने प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, मोरङ जिल्ला फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ, धरान सिटी फुटबल क्लब, भारतको दार्जिलिङस्थित कुरुसङ गल्स फुटबल एकेडेमी र आयोजक क्लब गरी जम्मा ८ टोलीको सहभागिता रहनेछ।
विगत चार वर्षदेखि भेट्रान फुटबल प्रतियोगिता गर्दै आएको सिमरा भेट्रान क्लबले यसपटकदेखि महिला फुटबलको विकास र प्रवर्द्धनका लागि महिला फुटबल प्रतियोगिता सुरु गर्न लागेको क्लब अध्यक्ष राजकपुर राउतले जानकारी दिए। उनले यो प्रतियोगितालाई नियमित रुपमा आयोजना गरिने प्रतिबद्धता पनि जनाए।
प्रतियोगिताको विजेता टोलीले नगद रु ५ लाख र उपविजेताले रु २ लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछ। यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई रु १ लाख तथा उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलरक्षक, फरवार्ड र प्रशिक्षकलाई जनही रु १० हजारका दरले पुरस्कार प्रदान गरिनेछ।
पत्रकार सम्मेलनमा बारा जिल्ला फुटबल संघका अध्यक्ष रामचन्द्र लामाले प्रतियोगिताले महिला फुटबलको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। उनले सिमरालाई महिला फुटबल खेलाडी उत्पादनको केन्द्रका रूपमा विकास गर्न सकिने तर्क गरे।
त्यस्तै, जीतपुरसिमरा उपमहानगरपालिका–१४ की वडाध्यक्ष चयन गुरुङले महिलालाई खेल क्षेत्रमा अगाडि बढाउन सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताउँदै आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाइन्। वडा नं. २ का अध्यक्ष धनबहादुर श्रेष्ठले विद्यालयस्तरमै महिला फुटबल विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए।
नव जनजागृति युवा क्लबका महासचिव शम्भु सिंह ठकुरी र आयोजक क्लबका प्रतिनिधि हरी चौधरीले वर्षौंपछि महिला फुटबल प्रतियोगिता पुनः सुरु हुन लागेकोमा उत्साह व्यक्त गरे। कार्यक्रममा नेकपा एमाले जीतपुरसिमरा नगर कमिटीका अध्यक्ष त्रिलोक विक्रम शाह, माओवादी केन्द्र नगर अध्यक्ष प्रेम बराल, क्लबका सल्लाहकार विनोद परियार र खेलकुद पत्रकार मञ्च बाराका अध्यक्ष सुनिल गाउँले लगायतले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरे।