शिक्षा क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव बनाइसकेको वीरगन्ज पब्लिक कलेजले यही शैक्षिक सत्र २०८२ देखि बैचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ।
मोफसलका विद्यार्थीहरूलाई आधुनिक प्रविधिको गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले कलेजले पूर्वाञ्चल विश्वविद्यालयसँगको सम्बन्धनमा बीआईटी कार्यक्रम सञ्चालन गर्न लागेको हो। कलेजले आज आयोजित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएको हो।
पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख डा. विनय श्रेष्ठले कलेजले सन् २०५७ सालदेखि प्लस टु, बीबीए, बीआईएम, बीबीएस, एमबीए, एमबीएस र एसीसीए कार्यक्रमहरू सञ्चालन गर्दै आएको स्मरण गराउँदै युगसापेक्ष सूचना प्रविधिमा केन्द्रित कार्यक्रमको आवश्यकता महसुस गर्दै बीआईटी कक्षा सुरु गरिएको जानकारी दिनुभयो।
यस वर्षदेखि सञ्चालनमा आउने बीआईटी कक्षामा ४८ जना विद्यार्थी भर्ना हुनेछन्। कम आर्थिक अवस्था भएका तर अध्ययनमा इच्छुक विद्यार्थीहरूका लागि छात्रवृत्तिको समेत व्यवस्था गरिएको सहायक क्याम्पस प्रमुख डा. अरविन्द श्रेष्ठले जानकारी दिनुभयो।
कलेजका अनुसार एक पटकमा ४८ जना विद्यार्थीलाई एकैसाथ प्रयोगात्मक अभ्यास गराउन सक्ने कम्प्युटर प्रयोगशालाको व्यवस्था गरिएको छ। साथै, कम्प्युटर ल्याब, डिजिटल लोजिक ल्याब, माइक्रोप्रोसेसर ल्याब र आइटीओ ल्याब लगायतका प्रयोगशाला समेत उपलब्ध गराइएको छ।
कार्यक्रमका कोअर्डिनेटर इन्जिनियर जयकिशन सहनीका अनुसार पछिल्लो समय सूचना प्रविधि क्षेत्रमा विद्यार्थीको आकर्षण तीव्र रुपमा बढिरहेको अवस्थामा बीआईटी कार्यक्रमले छात्रहरूलाई विश्वस्तरीय प्रविधि शिक्षामा सशक्त बनाउने विश्वास गरिएको छ।
चार वर्ष अवधि रहने बीआईटी कार्यक्रम आठ सेमेस्टरमा सम्पन्न हुने क्याम्पस प्रमुख श्रेष्ठले जानकारी दिनुभयो। अध्ययनमा आवश्यक पर्ने सम्पूर्ण पाठ्यपुस्तकहरू कलेजको पुस्तकालयमार्फत उपलब्ध गराइने कलेज प्रशासनले जनाएको छ।