सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिकको भण्डास बिप्पर कटेरी भन्ने स्थानबाट एकै परिवारका १६ जना सदस्य हराएपछि प्रहरी सक्रिय बनेको छ।
सो स्थानमा बसोबास गर्दै आएकी उर्मिला हायुको परिवारका सबै सदस्य सोमबार बिहानदेखि सम्पर्कविहीन भएको सूचना स्थानीयवासीहरूले जिल्ला प्रहरी कार्यालय, सिन्धुलीमा दिएका थिए।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार सूचना प्राप्त भएको तुरुन्तै प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिएको छ।
“सूचना पाउने बित्तिकै प्रहरी टोली हायुको घरमा पुगेको छ,” सुवेदीले बताए। “घरमा सामान्य क्षति देखिएको छ। हायु परिवारले पालेका कुखुरा, बाख्रा, भैंसी अलपत्र अवस्थामा भेटिएका छन् तर परिवारका कुनै सदस्य घरमा छैनन्।”
उनका अनुसार हायु परिवार अचानक सम्पर्कविहीन हुनुको कारण खुल्न सकेको छैन। हाल स्थानीय जनप्रतिनिधिहरू तथा गाउँवासीहरूसँग परिवारको अवस्थाबारे थप जानकारी संकलन गर्ने कार्य भइरहेको छ।
प्रहरीले घटना शंकास्पद भएको भन्दै गम्भीर ढंगले अनुसन्धान अघि बढाइएको जनाएको छ। हायु परिवार कहाँ गएका हुन् भन्ने विषयमा यतिबेला गाउँमा विभिन्न अड्कलबाजी भइरहेका छन्।
प्रहरीले हराएका व्यक्तिहरूको खोजीमा आवश्यक स्रोत तथा जनशक्ति परिचालन गरिरहेको जनाएको छ।