स्वास्थ्य सेवा विभागले देशभर रेबिज तथा सर्पदंशविरुद्धको खोप र औषधिको आपूर्ति सुरु गरेको छ। विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले सातवटै प्रदेशमा आवश्यक मात्रामा खोप र भेनम आपूर्ति गरेको जनाएको छ।
महाशाखा प्रमुख डा. पवनजंग रायमाझीका अनुसार यिनै औषधिहरू पहिले नै खरिद भएर आपूर्ति प्रक्रियामा थिए र अब ती प्रदेश सरकारअन्तर्गतका स्वास्थ्य संस्थाहरूमा वितरण गर्नका लागि प्रदेश आपूर्ति केन्द्रहरूमा पठाइसकिएको हो।
हालै रेबिज र सर्पदंश उपचारमा प्रयोग हुने औषधिको अभाव भएको समाचार सार्वजनिक भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले तत्काल आपूर्ति व्यवस्थापन गर्न निर्देशन दिएका थिए। उनले अभाव हुन नदिन आपूर्ति प्रक्रियामा तीव्रता ल्याउन र दीर्घकालीन समाधानको उपाय अपनाउन मातहतका अधिकारीहरूलाई निर्देशन दिएका थिए।
कति खोप कहाँ पठाइयो?
विभागका अनुसार हालसम्म ५१ हजार १८० डोज रेबिजविरुद्धको खोप प्रदेशहरूमा पठाइएको छ।
सबैभन्दा बढी बागमती प्रदेशमा १० हजार ८० डोज रेबिजको खोप तथा एक हजार डोज सर्पदंशविरुद्धको भेनम आपूर्ति गरिएको छ।
सर्पदंशका घटना बढी हुने मधेश प्रदेशमा २,५०० डोज सर्पदंशविरुद्धको भेनम तथा करिब ५,००० डोज रेबिजको खोप पठाइएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार मागका आधारमा अन्य प्रदेशहरूमा पनि खोप तथा भेनम आपूर्ति गरिएको छ।
भविष्यमा आपूर्ति विस्तार
स्वास्थ्य सेवा विभागले अहिले भएको आपूर्तिको अतिरिक्त आउँदो दुई महिनाभित्र हालको चार गुणा बढी खोप तथा औषधि आपूर्ति हुने व्यवस्था मिलाइएको जानकारी दिएको छ।