गत आर्थिक वर्ष २०८१/८२ मा वीरगञ्ज नाका हुँदै १२ अर्ब ७२ करोड रुपैयाँ बराबरको ३१ करोड ३८ लाख ६५ हजार ४७३ किलोग्राम धान आयात गरिएको छ।
यो परिमाण अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा मूल्यको आधारमा ५३ प्रतिशतले बढी हो।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार २०८०/८१ मा ८ अर्ब २९ करोड रुपैयाँ बराबरको २० करोड ८० लाख ९२ हजार ४४८ किलोग्राम धान आयात भएको थियो।
भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार गएको वर्ष धान मात्र नभई चामल र अन्य खाद्यान्नको आयात पनि उल्लेख्य रूपमा बढेको छ।
चामल आयातमा ४० प्रतिशत वृद्धि
गत आर्थिक वर्षमा २ अर्ब ४१ करोड रुपैयाँ बराबरको २ करोड ४८ लाख १३ हजार ५३१ किलोग्राम चामल आयात गरिएको छ।
अघिल्लो वर्ष १ अर्ब ७३ करोड रुपैयाँ बराबरको १ करोड ३२ लाख ४१ हजार ३७६ किलोग्राम चामल आयात भएको थियो।
यस आधारमा चामलको आयात ४० प्रतिशतले वृद्धि भएको देखिन्छ।
मकै, फापर–कोदो र कनिका आयात पनि वृद्धि
गत आर्थिक वर्षमा ६ अर्ब ७३ करोड रुपैयाँ बराबरको १३ करोड ९६ लाख ५९ हजार ६२१ किलोग्राम मकै आयात गरिएको छ।
अघिल्लो वर्ष ५ अर्ब ५९ करोड रुपैयाँ बराबरको १२ करोड ९९ लाख १८ हजार १७३ किलोग्राम मकै आयात भएको थियो।
त्यस्तै, ९१ लाख ९२ हजार ९८१ किलोग्राम फापर, कोदो र अन्य खाद्यान्न आयात गरिँदा त्यसको मूल्य ४७ करोड रुपैयाँ पुगेको छ।
अघिल्लो वर्ष ८४ लाख ९५ हजार ४४५ किलोग्राम यस्ता खाद्यान्नको आयात भएको थियो, जसको मूल्य ४३ करोड रुपैयाँ थियो।
त्यस्तै ८ लाख ४७ हजार ७८० किलोग्राम कनिका समेत ४ करोड रुपैयाँ बराबरको मूल्यमा आयात भएको छ।