प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज शुक्रबार बाराको परवानीपुर गाउँपालिकामा आयोजना हुने एक विशेष कार्यक्रममा सहभागी हुन आउँदै छन्।
प्रधानमन्त्री ओली मधेस प्रदेशको यस महत्वपूर्ण ग्रामीण क्षेत्रमा परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन समारोहमा सहभागी हुन लागेका हुन्।
गाउँपालिका अध्यक्ष रामक्षत्रीप्रसाद कुर्मीका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ। उनका अनुसार गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्थानीयवासी तथा एमालेका नेता–कार्यकर्ता उच्च उत्साहका साथ कार्यक्रम सफल बनाउन जुटिरहेका छन्।
परवानीपुर गाउँपालिका पर्सा जिल्लाको प्रमुख सहर वीरगञ्जसँग सिधा जोडिएको क्षेत्र हो। प्रधानमन्त्री ओलीको आगमनले वीरगञ्ज र आसपासका स्थानीयवासीमा समेत उत्साह छाएको छ। उनीहरू कार्यक्रममा सक्रिय सहभागिता जनाउने तयारीमा छन्।
मधेसका किसान तथा स्थानीयवासीहरू प्रधानमन्त्रीबाट विशेष सन्देश र ठोस प्रतिबद्धताको अपेक्षामा छन्। सिँचाइ अभाव, खानेपानीको चरम संकट, र कृषि समस्याबाट पीडित मध्यक्षेत्रका नागरिकहरूले विकास र राहतसम्बन्धी घोषणाको आशा गरेका छन्।
कार्यक्रममा प्रधानमन्त्री ओलीले उद्घाटनपछि उपस्थित जनसमुदायलाई सम्बोधन गर्ने छन्। उहाँले मधेस प्रदेशमा सरकारको दृष्टिकोण, आगामी विकास योजनाहरू र जनसरोकारका विषयमा धारणा राख्ने कार्यक्रम तय गरिएको छ।
अखिल नेपाल किसान महासंघका मधेस प्रदेश इन्चार्ज उमेश गुप्ताले प्रधानमन्त्रीको यो भ्रमणलाई ऐतिहासिक र प्रेरणादायी बनाउने उद्देश्यले सबै पक्ष एकजुट भएर तयारीमा लागिपरेको बताए।
प्रधानमन्त्रीको यो आगमनले स्थानीय स्तरमा विकास, समृद्धि र राजनीतिक सन्देशको नयाँ आयाम थप्ने विश्वास लिइएको छ।