घुस डिलसम्बन्धी अडियो प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्।
मन्त्री गुप्ताले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आफ्नो राजीनामा बुझाएका हुन्। राजीनामा दिएको पुष्टि स्वयं गुप्ताले गरेका छन्।
नेकपा (एमाले) संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले पनि गुप्ताले पदबाट राजीनामा दिएको जानकारी दिएका छन्।
यसअघि प्रधानमन्त्री ओलीले सोमबार साँझ बालुवाटारमा गुप्तालाई बोलाएर अडियो प्रकरणबारे सोधपुछ गरेका थिए।
मन्त्री गुप्ताको नाम भूमिसम्बन्धी एक अडियो टेपमा घुस डिलमा जोडिएपछि उनीविरुद्ध चौतर्फी दबाब परेको थियो। सार्वजनिक अडियोअनुसार, भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख रुपैयाँ र मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख रुपैयाँ घुसको लेनदेनबारे ‘डिल’ भएको भनिएको थियो। उक्त अडियो सार्वजनिक भएपछि मन्त्री गुप्ताको राजीनामा वा बर्खास्तको माग चुलिएको थियो।
सत्तारूढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला, महामन्त्री गगन थापा लगायतले मन्त्री गुप्तालाई तत्काल पदबाट हटाउन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए। साथै, एमालेभित्रकै नेता राजन भट्टराईलगायतले पनि गुप्तालाई बर्खास्त गर्न माग गरेका थिए।
एमालेका केन्द्रीय सदस्यसमेत रहेका गुप्ता प्रतिनिधिसभाका सांसद हुन्।
यसबीचमा मन्त्री गुप्ताले अडियो परीक्षण गराउन आफू तयार रहेको बताएका थिए। साथै, उनले अडियोमा उल्लेख गरिएको रकम आफू वा मन्त्रालयको खातामा नरहेको दाबी पनि गरेका छन्।