नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलको सरकार जनताको अपेक्षाविपरीत चलेको आरोप लगाउँदै संसदमा तीव्र आलोचना गरेका छन्।
सोमबार प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले सरकारलाई भ्रष्टाचार, भागबन्डा, राजनीतिकरण र विचौलियाको संरचना बनाएको भन्दै आक्रोश पोखेका हुन्।
उनले प्रधानमन्त्रीलाई नै प्रश्न गर्दै भने, “तपाईंका मन्त्रीहरू खुल्लमखुल्ला लाखौंको डिल गरिरहेका छन्, प्रधानमन्त्रीज्यू, चित्रगुप्तलाई बयान कहाँ गएर दिने हो?”
प्रचण्डले आफ्नो नेतृत्वमा भएको सरकारको पालामा भूमिहीन सुकुमवासीलाई जग्गाधनी प्रमाणपत्र दिने गृहकार्य अघि बढाइएको उल्लेख गर्दै भने, “तर अहिलेको दुई तिहाइको दम्भ बोकेको सरकारले भूमि आयोगका पदाधिकारी हटाउनु बाहेक केही गर्न सकेन।”
प्रधानमन्त्रीको ‘भ्रष्टाचार गर्दिनँ र गर्न दिँदिनँ’ भन्ने अभिव्यक्तिलाई जनताले अब विश्वास नगर्ने भन्दै उनले सरकारको व्यवहार त्यसको उल्टो भएको दाबी गरे।
“सरकार सुशासन र संविधान कार्यान्वयनको प्राथमिकतामा छैन। अँध्यारो कोठामा विचौलियाको स्वार्थ पूरा गर्न यो सरकार बनाइएको हो,” उनले आरोप लगाए, “आज पनि प्रधानमन्त्रीदेखि मन्त्रीहरू त्यही काममा व्यस्त छन्।”
प्रचण्डले सरकारको कामप्रति असन्तुष्टि जनाउँदै जनजीविका, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिजस्ता सवालहरू सत्ताका लागि बोझसरह बनेको टिप्पणी गरे।
“एउटै मुद्दामा आफ्नालाई उन्मुक्ति र विपक्षीलाई राजनीतिक प्रतिशोधको सिकार बनाउने मामिलामा त सरकारले विश्व कीर्तिमान नै बनाएको छ,” भन्दै उनले सरकारलाई कडा व्यंग्य प्रहार गरेका छन्।