पाकिस्तानको रावलपिन्डीमा टिकटक खाता मेटाउन अस्वीकार गरेपछि एक बुबाले आफ्नै १६ वर्षीया छोरीको गोली हानी हत्या गरेका छन्। प्रहरीले शुक्रबार घटनाबारे जानकारी दिएको हो।
प्रहरी प्रवक्ताका अनुसार किशोरीले टिकटक खाता मेटाउन बुबाको आग्रह अस्वीकार गरेपछि उनले 'सम्मानका लागि' हत्या गरेको स्वीकारेका छन्। घटनापछि बुबालाई पक्राउ गरिएको छ। प्रारम्भमा उक्त परिवारले आत्महत्या भनेर घटना ढाकछोप गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ।
पाकिस्तानमा महिलाहरू अझै पनि सामाजिक रूपमा कडाभन्दा कडा पारिवारिक प्रतिबन्धमा बाँधिएका छन्। अनलाइन स्पेससमेत उनीहरूको ‘आचरण’ नियाल्ने माध्यम बनेका छन्, जहाँ असहमति र स्वायत्तताले प्रायः हिंसात्मक मोड लिन्छ।
यसअघि गत महिनामात्रै, टिकटकमा लाखौँ फलोअर्स भएकी १७ वर्षीया सना युसुफको हत्या भएको थियो। एक व्यक्तिको प्रस्ताव अस्वीकार गरेपछि ती किशोरीको घरमै गएर हत्या गरिएको थियो। उनले आफ्ना सामाजिक सञ्जालमार्फत क्याफे, सौन्दर्य सामग्री र परम्परागत पोशाकहरूबारे सामग्री साझा गर्थिन्।
टिकटक पाकिस्तानमा व्यापक रूपमा लोकप्रिय भए पनि महिलाहरूको डिजिटल पहुँचमा गम्भीर असमानता छ। केवल ३० प्रतिशत महिलासँग स्मार्टफोन भएको तथ्यांक छ, जुन पुरुषहरूभन्दा निकै कम हो। सन् २०२५ को मोबाइल जेन्डर ग्याप रिपोर्टले पाकिस्तानलाई यो असमानतामा संसारकै सबैभन्दा अगाडि देखाएको छ।
पाकिस्तानी दूरसञ्चार प्राधिकरणले समय–समयमा टिकटकमाथि 'अनैतिक सामग्री' भन्दै प्रतिबन्ध लगाउने वा चेतावनी दिने गरेको छ। यस्तै, बलुचिस्तान प्रान्तमा एक बुबाले टिकटक भिडियोमार्फत आफ्नो ‘सम्मान’ क्षति भएको भन्दै आफ्नी १४ वर्षीया छोरीको हत्या गर्न योजना बनाएको स्वीकार गरेका थिए।
पाकिस्तानमा महिलामाथि हुने डिजिटल तथा सामाजिक हिंसाका यस्ता घटना झनझन बढ्दै गएको छ, जसले देशको लैंगिक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई गम्भीर चुनौती दिइरहेको छ।